नारायणगढ-मुग्लिन सडकका १४ पुल बनाइँदै, एक महिना भित्र प्रक्रिया थालिने

  २०७५ फागुन २० गते १५:००     विकासन्युज

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १४ पुल निर्माणको प्रकृया एक महिना भित्रमा थालिने भएको छ । सडक चौडा हुँदासमेत पुल साँघुरा भएपछि सवारी साधनलाई आवतजावत गर्न कठिन हुँदै आएको छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनियर दीपक भट्टराईका अनुसार नक्साङ्कन गरी निर्माण गर्ने गरी बोलपत्र आह्वान गरिँदै छ ।

उनले आवश्यक कागजपत्र अन्तिम चरणमा पुगेकाले विश्व बैंकसँग सहमति लिनुपर्ने भएकाले केही दिन लाग्ने बताए । सवारी साधन आवागमनमा समस्या भइरहेकाले छिटो पुल निर्माण सक्ने गरी काम अघि बढाइने उनले जानकारी दिए ।

सडक नौ देखि ११ मिटर चौडा छ । सडक बराबर चौडा पुल बनेपछि मात्र सवारी साधन आवागमनमा सहज हुनेछ । भट्टराईका अनुसार पुल निर्माणमा एक अर्ब हाराहारी खर्च लाग्ने अनुमान छ । शुरुमा नेपाल सरकारले भुक्तानी गर्ने गरी पुल बन्ने बताउँदै उनले पछि सो भुक्तानी विश्व बैंकले ऋण स्वरुप दिने जानकारी दिए ।

सो सडकका १८ पुलमध्ये चारवटा पुल निर्माणको क्रममा रहेका छन् । जटिल काम भएकाले ठेकेदार कम्पनीले नक्साङ्कनका लागि विदेशी विज्ञसमेत झिकाउनुपर्ने देखिएको छ । राजधानी काठमाडोँ भित्रने र बाहिरने देशकै प्रमुख सडक भएकाले दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने गर्दछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.