डेढ दशकपछि पुनरागमन गर्दै हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समूह ‘सिजन्स ब्याण्ड’

  २०७५ फागुन १८ गते १२:३३     विकासन्युज


काठमाडौँ । कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भएको हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समूह ‘सिजन्स ब्याण्ड’ लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ ।

२०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तियाँ एक्काइस’ मार्फत स्रोतामाझ आएको यो समूह १४ वर्षपछि चौथो एकल एल्बममार्फत पुनः सांगीतिक क्षेत्रमा सक्रिय हुने अन्तिम तयारी गर्दैछ । समुहले चौथो एकल एल्बम ‘सिजन्स द न्यू बिगिनिङ’ मार्फत स्रोतामाझ आउने तयारी गरेको हो ।

सिजन्स ब्याण्डमा छ जना संगीतकर्मीहरु सक्रिय छन् । चलचित्रको पाश्र्व गायन तथा पृष्ठभूमि संगीत निर्माणमा व्यस्त भैरहेका संगीतकर्मी सुजिल कर्माचार्य सिजन्स ब्याण्डको लोकप्रिय नाम हो । सुजिल यो समूहमा गायन तथा लिड गिटारिष्टको रुपमा आवद्ध छन् । समूहका अर्का सदस्य हुन् ज्ञानेन्द्र प्रधान । उनी पनि गायन र रिदममा आवद्ध छन् । अर्का सदस्य चन्द्र लामा समुहका गायक तथा ड्रमर हुन् । चलचित्रका गीतहरुमा संगीत संयोजन तथा पृष्ठभूमि संगीत उत्पादनमा सक्रिय संगीतकर्मी शैलेन्द्र प्रधान सिजन्सका किबोर्डिष्ट हुन् । संगीतकर्मी सञ्जय श्रेष्ठले बास गिटारिष्टको जिम्मेवारी सम्हालेका छन् । उपेन्द्र श्रेष्ठ भने ब्याण्डका व्यवस्थापक हुन् ।

विगतमा सिजन्स ब्याण्डले गाएका गीतहरु मध्ये सुनेको कुरा, असार साउन, रातो माटो, असफल जिन्दगी, सपना मात्र आदि लोकप्रिय गीतहरु स्रोता तथा दर्शकहरुलाई दिइसकेको छ ।

समुहले २०५६ सालमा पहिलो एल्बम ‘ख्याल ख्यालैमा’ तथा २०५८ सालमा दोस्रो एल्बम ‘सिजन्स’ सार्वजनिक गरेको थियो । सिजन अर्थात ऋतु । समूहले आफ्ना सिर्जनालाई ऋतु झैं परिवर्तनशील बनाउने अवधारणा बनाएको छ । जस अनुसार संगीत सिर्जनामा समेत परिवर्तनशील रहने योजना अनुरुप स्थापना भएको सिजन्स ब्याण्डले करिव डेढ दशकपछिको पुनरागमनका लागि आध्यात्मिकसंगै संगीतका अधिकांश शैलीलाई अनुशरण गर्ने लक्ष्य लिएको छ । ब्याण्डको नयाँ एल्बमका गीतहरुमा आध्यात्मिक भाव पाउन सकिन्छ ।

यसैबीच, ब्याण्डले शिवरात्रीको पूर्व सन्ध्या तथा विजया एकादशीको अवसर पारेर आज शनिवार मात्र चौथो एल्बमको पहिलो गीत ‘भन्छन् नारायण…’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

चौथो एल्बम तयार पार्ने क्रममा सिजन्सलाई स्टेरियो रेकडले व्यवस्थापकीय साथ दिएको छ । ब्याण्डको नया एल्बम तथा म्युजिक भिडियोहरुलाई स्टेरियो रेकर्ड्सले व्यवस्थापन गर्ने रेकर्ड्सका मेनेजर निरज श्रेष्ठ बताउँछन् । निरजका अनुसार निकट भविष्यमै सिजन्स ब्याण्ड लाइभ कन्सर्टमार्फत समेत दर्शकमाझ आउने तयारी गरिरहेको छ ।

यस्तो छ सिजन्स ब्याण्डको नयाँ म्युजिक भिडियो:

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.