दाङमा प्लास्टिकको बोतल प्रयोग गरेर स्कुल बनाउँदै टिच फर नेपाल

  २०७५ माघ २७ गते ११:०१     विकासन्युज

लमही। दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालोखोलाको भवन ‘मिनरल वाटर’का बोतल प्रयोग गरी निर्माण गर्न थालिएको छ । बिगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त विद्यालयको भवनलाई टिच फर नेपालका स्वयंसेवकले जथाभावी फालिएका मिनरल वाटरका बोतल प्रयोग गरेर निर्माण शुरु गरेका हुन् ।

दाङमा पहिलो पटक यस्तो खालको भवन निर्माण हुन थालेको छ । विसं २०६७ देखि अलपत्र परेको भवन निर्माणकार्यलाई टिच फर नेपालका स्वयंसेवक, उक्त विद्यालयका विद्यार्थी, शिक्षकले खेर गइरहेका प्लाष्टिकको बोतलबाट भवनको दुई कोठा निर्माण गर्न शुरु गरेका हुन् ।

टिच फरका विसं २०७६ को नयाँ शैक्षिकसत्रदेखि देशभरका विभिन्न स्थानमा स्वयंसेवक शिक्षकका रुपमा जान लागेको भन्दै उनिहरुलाई  समाजसँग घुलमिल गराउनका लागि उक्त अभियान अन्तर्गत शनिबार भवन निर्माणको थालनी गरिएको कार्यकारी प्रमुख शिशिर खनालले बताए।

उनका अनुसार पहिलो दिन लामो समयदेखि अर्थाभावमा निर्माण गर्न नसकिएको उक्त विद्यालयलाई आफै सक्रिय भएर पनि निर्माण गर्न सकिन्छ भन्ने चेतना दिन श्रमदान गरिएको हो । उनले बजारमा जथाभावी फालिएका बोतलबाट भवन निर्माण गर्न सकिने र कम खर्चिलो हुने भन्दै विद्यालयमा मिनरलको बोतमा बालुवा, सिमेन्ट, माटो मिसार भर्ने अनि सुकाएर इँटाको रुपमा प्रयोग गरेर भवन निर्माण गर्न सकिने बताए।

आफ्ना स्वयंसेवकलाई आवासीय तालीम, समुदायसँग घुलमिल गर्ने अभ्यास दिन विद्यार्थीकै घरमा बस्ने, त्यहाँको वातावरण अवगत गराउने गरेको उनको भनाइ छ । देशभरिका करीब १०० स्वयंसेवकले दिनभर भवन निर्माणको काम गरेका हुन् ।

त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले रु दुई लाख, टिच फर नेपालले रु एक लाख र सोना सिमेन्टले ३० बोरा सिमेन्ट उपलब्ध गराउने आश्वासन दिएका छन् । अहिले ७०० भन्दा बढी विद्यार्थी रहेकाले कक्षाकोठा अभाव रहेको उनको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.