देशको पूँजी बाहिरिए आर्थिक समृद्धि सम्भव छैनः गभर्नर नेपाल

  २०७५ माघ ११ गते १७:५३     विकासन्युज


रुपन्देही । आम नागरिकलाई बैंकिङ सूचना प्रवाह गर्ने उद्देश्यले ‘बैंकिङ, बीमा, पूँजीबजार’ प्रदर्शनी आजदेखि बुटवलमा शुरु भएको छ । “वित्तिय जागरणः राष्ट्रिय अभियान’ कार्यक्रमअन्तर्गत मिडिया इन्टरनेशनलको आयोजना तया नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको एक समारोहका बीच उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीबी नेपालले मुलुकको अर्थतन्त्र बलियो बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताए ।

उनले खाद्यान्न आयातमा देशको ठूलो पूँजी बाहिरिएकाले यसलाई रोक्न स्वदेशमै लगानी गरी उत्पादन बढाउनु पर्ने धारणा राखे । “पछिल्लो पाँच महिनाको अवधिमा पाँच अर्बको तरकारी र नौ अर्ब बराबरको चामल आयात गरिएको छ ।”, उनले भने, “देशको पूँजी बाहिरिएर आर्थिक समृद्धि सम्भव छैन ।” उनले आम नागरिकमा बैंकसँग कारोबार गर्ने बानीको विकास गरी वित्तीय पहुँच विस्तार गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वित्तीय साक्षरताले नै वित्तीय पहुँच बढ्ने धारणा राखे । डेभलपमेन्ट बैंकर्स एशोसिएशनका उपाध्यक्ष प्रकाश पौडेलले प्रदेशमा थप उद्यमीको सिर्जना गरी उत्पादनमा प्रदेश नं ५ अगाडि छ भन्ने सन्देश दिनु जरुरी रहेकोमा जोड दिए ।

वित्तीय जागरणः राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले बैंकिङ सूचना प्रवाह गर्ने तथा आम नागरिकको बैंकिङ पहुँच बढाउन प्रदर्शनी आयोजना गरिएको बताए । बैंकिङ सूचना प्रवाह गर्ने तथा आम नागरिकको बैंकिङ पहुँच बढाउने उद्देश्यले बुटवलको कालिका मानव ज्ञान माविको प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा बीमा र बैंकिङसम्बन्धी ४० वटा कक्ष रहेका संयोजक निर्दोषले जानकारी दिए । प्रदर्शनी शनिबार सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.