५४ बैंकको वाणिज्य बैंकसँग १० महिनाको लाइसेन्स, २९ संस्थाको लाइसेन्स विवादास्पद

  २०७५ माघ १० गते ९:३६     मञ्जरी पौडेल

काठमाडौं । आज राष्ट्रिय वाणिज्य बैंकले ५४ औं वार्षिकउत्सव मनाउँदै छ । तर नेपाल राष्ट्र बैंकका अनुसार यस बैंकले बैंकिङ कारोबार गर्न अनुमति पाएको १ वर्ष पनि पुरा भएको छैन ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले बैकिङ कारोबार सञ्चालन अनुमति (लाइसेन्स) पाएको २०७५ बैशाख १९ गते हो । राष्ट्र बैंकको विवरण अनुसार यो बैंक जम्मा १० महिना पुरानो बैंक हो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार यस बैंकले राष्ट्र बैंकबाट २०२२ माघ १० गते बैकिङ कारोबार गर्न अनुमति पत्र पाएको हो । त्यसैलाई आधार मानेर बैंकले ५४ औं वार्षिक उत्सव आज मनाउन लागेको उनले बताए ।

धेरै नेपालीलाई थाहा छ, यो बैंकमा अहिलेको पुस्ताले मात्र होइन, हजुरबुबा पुस्ताले पनि बैंकिङ कारोबार गरेका थिए । र, यो पुरानो बैंक हो । तर राष्ट्रिय वाणिज्य बैंकसँग बैकिङ कारोबार गर्न दिएको १० पुरानो लाईसेन्स छ । राष्ट्र बैंकका अनुसार मेगा बैंक छोडेर राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा कान्छो हो ।

‘राष्ट्र बैंकको नियम अनुसार मर्ज भएपछि पुराना दुबै लाईसेन्स राष्ट्र बैंकलाई बुझाउनु पर्दोरहेछ । एनआईडीसी र राष्ट्रिय वाणिज्य बैंक दुबैको पुरानो लाईसेन्स राष्ट्र बैंकले खिचेर राख्यो । हामीले नयाँ लाईसेन्स पाएको १० महिनामा मात्र भयो’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने–‘हामी ५४ औं वार्षिक उत्सव मनाउँदै छौं । तर हामीसँग लाईसेन्स १० महिना पुरानो मात्र छ ।’

राष्ट्रिय वाणिज्य बैंकको कुरा मात्र होइन, यो सहित १२ वटा वाणिज्य बैंकहरु, १२ वटा विकास बैंक र ५ वटा वित्त कम्पनीहरुको कहिलेदेखि सञ्चालनमा आएका हुन् भन्ने मिति विवादास्पद बनेको छ ।

ती बैंक तथा वित्तीय संस्थाहरुको आधिकारिक वेवसाइट र नेपाल राष्ट्र बैंकको वेवसाईटमा उल्लेख गरिएको मिति छुट्टाछुट्टै छ । सम्बन्धित बैंकहरुले आफ्नो वेवसाइटमा सञ्चालनमा आएको मिति र राष्ट्र बैंकले सञ्चालन गर्न अनुमति दिएको मितिमा धेरै वर्षान्तर देखिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, जनता बैंक नेपाल र मेगा बैंकको सञ्चालन मिति विवादस्पद बनाईएको छ ।

त्यस्तै विकास बैंकहरुमा सांग्रिला, देवः, कैलाश, ज्योति, गरिमा, ओम, महालक्ष्मी, गण्डकी, लुम्बिनी, कामना र वेष्टन डेभलपमेन्ट बैंकको सञ्चालन मिति सम्बन्धित संस्थाको वेवसाईट र राष्ट्र बैंकको वेवसाईटमा फरक फरक देखिएको छ । त्यस्तै, वित्त कम्पनीहरुमा रिलायन्स, गोर्खा, श्री इन्भेष्टमेन्ट सेन्ट्रल र वेष्ट फाइनान्सको सञ्चालन मिति विवादस्पद छ ।

राष्ट्र बैंकको विवरणमा मर्जर पछिको सञ्चालन मिति उल्लेख छ । त्यसैले पुराना बैंक पनि मर्जपछि नयाँ जस्तो देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.