‘तीतो सत्य’मा पैसा नपाएपछि फिल्ममा जमेका दीपकराज गिरी, जसले छक्कापञ्जाकाे नाममा ४९ कराेड व्यापार गरे

२०७५ माघ १ गते ७:५३ दीपकराज गिरी

दीपकराज गिरी सुपरहिट कलाकार हुन् । टेलिफिल्म तथा फिल्ममा हास्यव्यङ्ग्य र अभिनय मार्फत सबै नेपालीका प्रिय कलाकार बन्न सफल गिरी पछिल्लो समय फिल्म उद्योगमा सर्वाधिक सफल उद्यमी पनि हुन् । उनको नेतृत्वमा बनेको छक्का पञ्जा र वडा नम्बर ६ फिल्म निकै सफल भएका छन् ।


सिनेमा क्षेत्रमा उद्यमीको रुपमा उभ्याउन कठिन छ । सिनेमा भनेको कलासँग सम्बन्धित कुरा हो । यो कुनै खरदारको जागिर वा अधिकृतको जागिर जस्तो होइन । जहाँ सामान्य ज्ञान सिकेर म जागिर खान्छु अनि आफ्नो भविश्य बनाउँछु भन्ने हुन्न । यो एकदमै विशेष क्षेत्र हो, जहाँ आफु भित्र रहेको खुबी, कला जुन सुरुमा थोरै भएपनि भगवानले दिएका हुन्छन् । आफुलाई पनि त्यसमा रुचि जाग्यो भने त्यसलाई सुधार्दै, परिस्कृत गर्दै, तालिमहरु लिंदै, आफ्नो कलालाई निखार्दै लैजान सकिन्छ ।

कलाको पनि थुप्रै विभागहरु छन् । गीत संगीत, अभिनय, निर्देशन, लेखन आदी । सबैभन्दा आफुलाई कुन विभागमा बढी रुचि छ त्यसलाई पत्ता लगाउन जरुरी छ । अरुले जे गर्यो त्यही गर्छु भन्दै दौडिन हुन्न । त्यसपछी आफ्नो विभागलाई समातेपछी त्यससम्बन्धी तालिमहरु लिनुहोस् । आजकल हरेक विभागको लागि एकदमै राम्रा तालिम केन्द्रहरु खोलिएका छन् ।

कलाकारिता र उद्यमशिलतामा फरक छ । व्यवसायमा तपाईंले लगानी गर्नु भयो भने तपाईँ उद्यमी हुनुहुन्छ । कलाकारिता र उद्यमशिलता फरक कुरा हुन् । कला साहित्य फरक कुरा हुन् । यसमा बिशेष क्षमता भएका मानिसहरु मात्र लाग्न सक्छन् । यसको लागि तपाईंलाई आफु फरक र बिशेष भएको अनुभुति हुनपर्छ । त्यसपछि मात्र तपाईंले आफ्नो सोख पूरा गर्नुहोस्, अनी त्यसलाई उद्यमशिलतातर्फ धकेल्दै जानुहोस् ।

आफ्नो भविष्य आफँैले निर्माण गर्ने हो । आफ्नो जागिर आफैंले पकाउने हो । यसमा सफल नै भईन्छ भनेर भन्न सक्दिन । त्यस्ता धेरै मानिस मैले देखेको छु, जो यहाँ आएर फर्किसकेका छन् । यहाँ क्षमताको मात्र होईन भाग्यको पनि खेल हुन्छ । तपाईंले आफूलाई कसरी परिष्कृत गर्नु हुन्छ, मानिसहरुसँग कस्तो सम्बन्ध राख्नुहुन्छ, त्यसले तपाईंको भोलिको दिनलाई आकार दिनेछ ।

फिल्मी क्षेत्रमा मलाई सफल व्यक्तिको रुपमा चित्रण गरिएको छ । फिल्म ६ एकान ६ ले ४ करोड रुपैयाँको कारोबार गर्यो । वडा नं ६ले ७ करोड रुपैयाँको कारोबार गर्यो । छक्का पन्जा १ मा १६ करोड कारोबार भयो । छक्का पन्जा २ मा १४ करोडको कारोबार भयो । छक्का पन्जा ३ मा १९ करोड रुपैयाँको कारोबार भयो । जुन बेला जुन फिल्म आयो, त्यो बेला त्यो दर्शकको माया र कारोबार दुबै हिसावले उत्कृष्ठ रहे ।

कारोबार सबै नाफा होइन । त्यसमा ३०/३५ प्रतिशत नाफा हुन्छ । यिनीहरुले एउटै फिल्ममा १६ करोड, १९ करोड कमायो भनेर मान्छेहरुले बुझ्छन् । फिल्म निर्माताको हातमा पर्ने करिब ३५ प्रतिशत मात्र हो । त्यो रकम हामी ६–७ जना निर्माताको हातमा पर्छ ।

यो कमाईपनि राम्रो हो किन भने म सानो उद्देश्य बोकेर हिडेको थिएँ । दर्शकहरुले हामीलाई यतिधेरै रुचाईदिनु हुन्छ भनेर हामीले सोचेका थिएनाैं। पैसा यति कमाएँ र उति कमाएँ भन्दापनि दर्शकहरुले हाम्रो फिल्मलाई धेरै मन पराईदिनु भयो, यो नै हाम्रो ठूलो सफलता हो ।
उद्यमशीलताको विकास स्वस्फूर्त हुँदैन । सबैभन्दा पहिला तपार्इँको काम प्रतिको लगाव, तपाईंको रुचि र तपाईँको सोचमा पनि फरक पर्छ । जस्तैः रेस्टुरेन्टहरुमा सबैले खाने कुरा दिने गर्छन्, एउटा रेस्टुरेन्ट यस मानेमा फरक हुन्छ कि उसले कस्तो वाताबरण सिर्जना गरेको छ ।

अरु फिल्मले ७/८ करोड कमाउँदा हाम्रा फिल्मले १७/१८ करोड कमाईरहेको छ । एउटा कारणले मात्र त यो पक्कै पनि हुँदैन । हामीले बिशेष गरेर हाम्रो स्क्रिप्टमा ध्यान दिइरहेका छौं । हामी यसमा उच्चस्तरको मिहेनत गर्छौँ । हामी यसलाई दर्शकको पाटोबाट पनि अध्ययन गर्न प्रयास गर्छौँ । एउटा स्क्रिप्ट राम्रो तयार भएपछि लगभग फिल्म ५० प्रतिशत सफल हुन्छ । त्यसपछि मार्केटिङको कुरा, ब्राडिङ लगायत सानो सानो कुरामा पनि ध्यान दिन्छौं ।

तीतो सत्यमा पैसा नपाउँदाको क्षण

हामीले अभिनय गरेको टेलीसिरियल ‘तीतो सत्य’ पनि एकदम मन पराइएको सिरियल थियो । तर, निर्माता पक्षबाट व्यवस्थापन राम्रो नहुँदा त्यो बन्द भयो । तीतो सत्यले आफ्नो १२ वर्षसम्मको यात्रा तय गरेको थियो । यो नेपालको सबैभन्दा लामो टेलिसिरियलको इतिहासपनि बनाएको छ । मेरो पहिचान तीतो सत्यले नै बनायो । मैले अहिले जतिपनि फिल्महरु बनाएँ, त्यो सबै त्यसैको जग उभिएर बनेका छन् । त्यसबाट मैले धेरै कुरा पाएको छु । त्यो मेरो जिन्दगीमा एकदमै महत्वपूर्ण हिस्साको रुपमा रहेको छ ।

हो, तीतो सत्यमा अभिनय गरेको पैसा समेत हामीले पाउन सकेनौं । तर म त्यसमा बेखुश छैन । शुरुमा त्यहिबाट पाएको पैसाले मेरो आर्थिक अवस्था राम्रो भयो । पछि गएर उनीहरुको अवस्था कमजोर भएको बेलामा मैले पैसा पाईन भनेर म दुखी छुईन् ।

मैले यदि पैसा पाएर त्यही काम गरिरहेको हो भने त्यही काममा अड्केर बसेको हुन्थेँ । एउटा ढोका बन्द हुनु भनेको हजारौँ ढोका खोज्नु हो । पहिला हामी तीतोसत्य पनि बनाउथ्यौँ । फिल्मपनि बनाउथ्यौँ, कार्यक्रममा पनि जान्थ्यौं । हाम्रो लागि फिल्म पार्टटाईम काम जस्तो थियो । त्यसमा हामीले धेरै समयपनि दिन पाउँदैन थियौं, अनि फिल्म ठिकठाक चल्थ्यो ।

हामीले तितोसत्य छोडी सकेपछि धेरै समय फिल्मलाई दिन पायौँ र प्रतिफलपनि राम्रो निस्कियो । त्यसैले म त्यसलाई मेरो नयाँ बाटोको सुरुवातको रुपमा लिन्छु । म तितोसत्यप्रति सधैं आभारी हुनेछु ।