न्युरोडको महर्जन कम्प्लेक्स वैशाखदेखि सञ्चालनमा, एक हजारले रोजगारी पाउने

  २०७५ पुष २६ गते १८:३७     विकासन्युज

काठमाडौं । आगामी वैशाखदेखि राजधानीको न्युरोडमा रहेको महर्जन कम्प्लेक्स सञ्चालनमा आउने भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत तारिफ गरेको उक्त व्यावसायिक भवन सञ्चालनमा आएपछि एक हजार जनाले रोजगारी पाउने बताइएको छ ।

युनेस्कोले २२ नोभेम्बर २०१७ मा प्रेषित गरेको एक पत्रमा उक्त भवनको ‘नियो क्लासिकल’ (नव पारम्परिक) स्वरुपको तारिफ गरिएको थियो । युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग मिल्दो भएको, भवनविश्व सम्पदा भन्दा बाहिर रहेको र यसमा युनेस्कोलाई कुनै आपत्ति नभएको उल्लेख छ ।

उक्त भवन ९ रेक्टर स्केलको भुइँचालो थेग्ने गरी बनाइएको यसका प्रवद्र्धक कृष्णलाल महर्जनले बताए । भवनको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री छ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी र फायर फाइटिङ सिस्टम छ । कम्प्लेक्सको बनावट परम्परागत शैलीको छ । यसको बीचभागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ जसले गर्दा कम्प्लेक्स भित्र अक्सिजन सहितको खुला हावा उपलव्ध हुने छ । चारैतिर भवनले घेरिएको बीच भागमा पुग्दा सहरको कुनै परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुन्छ ।

साबिकमा क्रिस्टल होटल रहेको जग्गामा बनेको देशकै पहिलो सम्पदामैत्री ‘महर्जन कम्प्लेक्स’लाई लिएर दायर मुद्दामा सर्वोच्च अदालतले कम्प्लेक्स प्रवद्र्धकको पक्षमा फैसला गरेपछि सञ्चालनको बाटो खुलेको हो । सर्वोच्चको फैसलामा उक्त कम्प्लेक्स संरक्षित स्मारक क्षेत्र (कोर जोन) भन्दाबाहिर बफर जोनमा र सोको पुष्टि नेपाल सरकार हनुमानढोका संरक्षण संग्रहालय विकास समिति २०६७ ले प्रकाशन गरेको स्मारिका २०७५ को प्रकाशित नक्साबाट समेत थप प्रष्ट भएको उल्लेख छ । सर्वोच्चको फैसलामा उक्त कम्प्लेक्स काठमाडौं महानगरपालिकाको भवन निर्माण मापदण्ड २०७५ अनुसार भएको पनि उल्लेख गरिएको छ ।

उक्त कम्प्लेक्समा करिब पाँच दर्जन पसल कबल रहने छ । साथै, निकट भविष्यमै स्पेस बुकिङ खुला हुने प्रवद्र्धकहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.