नवलपरासीकाे पर्यटकीय क्षेत्रमा सडकमार्ग जीर्ण बन्दै, मर्मतप्रति सरकारको ध्यान नगएकाे गुनासाे

  २०७५ पुष २४ गते १६:३०     विकासन्युज

काठमाडौं । नवलपरासी पूर्व नवलपुरको पर्यटकीय क्षेत्र पुग्ने डण्डा–अमलटारी–कोल्हुवा सडक जीर्ण बन्दा यस क्षेत्रमा आउने पर्यटकलाई यात्रा गर्न समस्या भएको छ । अमलटारी घरबास, थारू अतिथि गृह, गङ्गेश्वर धाम, मध्यवर्ती र नारायणी आसपासका पर्यटकीय क्षेत्र जाने मुख्य मार्ग जीर्ण हुँदा यस क्षेत्रमा आउने पर्यटक लगायतका यात्रुलाई समस्या परेको हो ।

कावासोती १६ डण्डा हुँदै अमलटारी, मध्यविन्दु नगरपालिका कोल्हुवा र पनौतीसम्म पुग्ने यो सडक ठाउँठाउँमा भत्किएर जीर्ण बनेको छ । पूर्व पश्चिम राजमार्गदेखि करीब १० किलोमिटरको यो सडक भत्किएर खाल्डाखुल्डी हुँदा जीर्ण बनेको छ ।

बाह्य तथा आन्तरिक पर्यटकको मुख्य गन्तव्य अमलटारी घरबास, मध्यवर्ती क्षेत्र र नारायणी तटीय क्षेत्रको अवलोकन हो । वासोती नगरपालिकाले सो सडक पर्यटकीय मार्ग भएकाले अघिल्लो आर्थिक वर्षमा नै आफ्नो नीति तथा कार्यक्रममा ‘ग्रिनरी सडक’का रुपमा विकास गर्ने योजना समावेश गरेको थियो तर उक्त नीति तथा कार्यक्रमअनुसार काम हुन नसकेकोमा यहाँका होटल व्यवसायीले गुनासो गरेका छन् ।

कावासोती–१६ का वडाध्यक्ष एकादत्त वस्तीले बाटोले सास्ती पाएको गुनासो जनस्तरबाट आइरहेको स्वीकार गर्दै छिट्टै बाटो बनाउन पहल गरिने बताएका छन्। नगरपालिकाले बनाउने भनेको चक्रपथ र शहरी विकास योजनाको सहयोगमा बाटो निर्माण गर्ने काम हुने जानकारी दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.