राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको शुल्क वृद्धि, सर्वसाधारण र अधिकारकर्मी विरोधमा

  २०७५ पुष १९ गते १२:२२     विकासन्युज

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको स्वास्थ्य शुल्क वृद्धि गर्ने निर्णयविरुद्ध चौतर्फी विरोध भएको छ । प्रतिष्ठानले केही दिन अघि स्वास्थ्य सेवामा शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । अस्पतालमा गुणस्तरीय तथा प्रभावकारी सेवा नहुँदै जनतालाई मारमा पार्ने गरी भएको शुल्क वृद्धिको निर्णय फिर्ता गर्न जिल्लास्थित सम्बद्ध निकायले आग्रह गरेका छन् ।
बिरामी भर्ना शुल्कमा रु २५ बाट रु १०० पुर्याइएको छ भने आकस्मिक बिरामी भर्ना शुल्कमा रु २५ बाट रु २०० पुर्याइएको छ । साथै सुत्केरी महिलाले प्रसूति गराए बापत सुत्केरी खर्च प्राप्त गर्दै आएकोमा उल्टो रु सात हजारदेखि रु १२ हजार लाग्ने भएपछि सर्वसाधारणदेखि अधिकारकर्मी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिले विज्ञप्ति नै जारी गरेर तत्कालको सेवा सुविधाकै अवस्थामा शुल्क वृद्धि गर्नु गलत भएको बताएको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालले दिँदै आएको सेवा सुविधामा गरेको कटौतीको कुराले सरोकार समितिको ध्यानाकर्षण भएको जनाएको छ ।

सेवा सुविधाको अवस्थामा शुल्क वृद्धि र पाई आएको सुविधा कटौतीले प्रतिष्ठानप्रति नै नकारात्मक भावना वृद्धि हुने भएकाले शुल्क वृद्धि नगर्न र पाई आएको सेवा सुविधा कायम गराउन जोडदार माग गरिरहेको संयोजक नारायण भुसालले उल्लेख गरेका छन् ।

प्रतिष्ठानको विषयमा प्रतिनिधिसभा सदस्य सांसद मेटमणि चौधरीले सरकारले स्वास्थ्य सेवालाई भरपर्दो, सर्वसुलभ र निःशुल्क बनाउने घोषणा गरे पनि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खिल्ली उडाएको जनाएका छन् । प्रतिष्ठानको कदमविरुद्ध नेकपा दाङ, राष्ट्रिय जनमोर्चा दाङ र नागरिक समाज दाङले समेत विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.