तनहुँको बन्दीपुर पर्यटकीय नगर बन्दै, दैनिक ३ सय भन्दामाथि पर्यटकको आगमन

  २०७५ पुष १८ गते १०:५६     विकासन्युज

काठमाडौं । एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर भित्रिएको पर्यटन विकास समितिका अध्यक्ष वैशबहादुर गुरुङले जानकारी दिएका छन् । सन् २०१७ मा करीब एक लाख पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । भ्रमण गर्नेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक रहेका रहेका थिए ।

आउने बाह्य पर्यटकमा अमेरिका, थाइल्याण्ड, चीन, भारत र कोरियाका बढी छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटक बढी मात्रामा बन्दीपुर आएका थिए । “नेपालीमा घुम्ने संस्कृतिको विकास हुँदै गएको बताउँदै जाडो मौसमसँगै यतिबेला बन्दीपुरमा पर्यटकको ओइरो लागेको जानकारी दिएका छन् ।

दैनिक करीब तीन सय पर्यटक बन्दीपुर घुम्न आउने क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानको भनाई रहेको छ ।

बन्दीपुरको मनोरम दृश्य र ऐतिहासिकस्थलको बारेमा जानकारी लिन बाह्य पर्यटक आउने गरेको छन् ।

बन्दीपुरमा हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँघर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिजेललगायत सानाठूला गरी ५७ होटल तथा २२ घरबास सञ्चालनमा छन् ।

ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० सम्म पर्यटकले रात बिताउन सक्ने व्यवस्था रहेको होटल संचालकको भनाइ छ ।बन्दीपुरमा ढुङ्गाले छापेको बाटोमा सवारीसाधन गुडाउन निषेध गरिनुका साथै पुराना घर भएकाले बाह्य पर्यटक आकर्षित हुने गरेका छन् । काठका बुट्टा कुँदिएका झ्याल तथा ढोका, इँट्टाबाहिर देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आकर्षणको रुपमा रहेका छन् ।

पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर पर्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.