भ्रमण वर्ष २०२० काे तयारी : एयरपाेर्ट २२ घण्टा चलाउने, हाेटलमा ६ हजार बेड थप्ने

  २०७५ पुष १६ गते ११:२१     विकासन्युज

काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । जसले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाएको छ । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक आएका थिए ।

बोर्डले छिमेकी मुलुक चीन र भारत लक्षित प्रभावकारी रुपमा चलाएको प्रवद्र्धनात्मक कार्यक्रमले पर्यटकको सङ्ख्या वृद्धि भएको हो । घुमफिरजस्ता प्रवद्र्धन अभियानले आन्तरिक पर्यटक पनि उल्लेख्य रुपमा बढेका छन् । नेपालीमा विभिन्न गन्तव्यमा घुम्न निस्कने र खर्च गर्ने बानी बढेको छ । सरकारले नयाँ गन्तव्य पहिचान र प्रवर्द्धनका लागि सय गन्तव्य घोषणा गरी कार्यक्रम अघि बढाएको छ ।

सन् २०२० काे अभियान

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन पर्यटन मन्त्रालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक गतिविधि बढाउन विभिन्न समिति बनाएर काम अघि बढाएको छ ।

होटल एशोसिएशन अफ नेपालका अनुसार अहिले होटलको ‘वेड’ सङ्ख्या ३७ हजार छ । सन् २०२० सम्म करिब छ हजार बेड सङ्ख्या थपिनेछ । अहिलेकै अवस्थामा २५ लाख पर्यटक थान्न सकिने व्यवसायीले बताउँदै आएका छन् । काठमाडौँ उपत्यका र बाहिर गरी १० वटा पाँच तारे होटल निर्माण भइरहेका छन् । पर्यटन मन्त्रालयले करीब ४५ वर्षपछि पुरानो पर्यटन ऐन २०३५ परिवर्तन गरी नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको छ । उक्त ऐनको मस्यौदा तयार भई पारित हुने प्रक्रियामा छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पुनः कालोपत्र गरिँदै

मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इतिहासमै पहिलोपटक धावनमार्ग पुनः कालोपत्र ‘रनवे रिह्याब’ को प्रक्रिया अघि बढेको छ । पहिला १७ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल अहिले दैनिक २२ घण्टा सञ्चालन भइरहेको छ । विमानस्थलको स्वरुप बदलिएको छ । बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यले विमानस्थलमा मुलुकको कला, संस्कृति र पहिचान झल्कने वस्तुको सजावट गरिनुका साथै नयाँ कार्पेट बिछ्याएर सरसफाइले चिटिक्क पारिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल अघिको अव्यवस्थित पाकिङ स्थानान्तरण गरिएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्द्धनका आधार

मुलुकमा भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । संस्कृति, पर्यटन मन्त्रालयको अगुवाइमा प्यासिफिक एसिया ट्राभल एशोसिएशन पाटा नेपाल च्याप्टरले आयोजना गरेको मार्टमा २६ देशबाट ५९ कम्पनी सहभागी थिए ।

यस्तै गत भदौ १४ र १५ गते काठमाडौँमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिम्सटेक) सम्मेलनमा सम्बन्धित राष्ट्रप्रमुख पाहुनाको आगमनले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्यो । अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिलाउन सम्मेलन उपयोगी बन्यो ।

मङ्सिर १५ र १६ गते काठमाडौँमा भएको एशिया प्रशान्त सम्मेलनमा विभिन्न मुलुकका पर्यटक थपिएका छन् । यो सम्मेलनले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको छ । कम्बोडियाका प्रधानमन्त्री, म्यानमारकी नेत्री लगायतले नेपाल भ्रमण गरेका थिए । नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान गर्ने सम्झौता भयो । जुन पर्यटन क्षेत्रका लागि उपलब्धि मूलक मानिएको छ ।

यही पुस १२ गते पर्यटनको लागि महत्वपूर्ण मानिएको पुरातात्विक महत्वको राष्ट्रिय गौरव ‘धरहरा’ को प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्यको यो सम्पदा विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा चल्यो । जुन सन् २०१९ को जुलाइभित्र सञ्चालनमा आइसक्नेछ । बहुप्रतिक्षित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ । वर्षभरि पर्यटनका परी घटनाका सकारात्मक र नकारात्मक दुवै पक्ष रहे । फेक रेस्क्युको समाचारले अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुल्यो । पर्यटन मन्त्रालयले छानबिन समिति बनाएर आवश्यक कारवाही प्रक्रिया अघि बढायो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.