धनगढी क्षेत्रीय शहरी विकास अयोजनाका लागि रू २ अर्ब वजेट विनियाेजन 

  २०७५ पुष ८ गते १४:३९     विकासन्युज

काठमाडौं । धनगढी उपमहानगरपालिकाकाे  क्षेत्रीय शहरी विकास आयोजनाको काम अन्योल रहेको छ । क्षेत्रीय शहरी विकास अयोजना र धनगढी उपमहानगरपालिकाबीच आयोजना कार्यान्वय गर्ने विषयमा भएको समझदारी बमोजिम उपमहानगरपालिकाले अहिलेसम्म एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइड) स्थापना गर्न ढिलाइ गर्दा आयोजनाको काम अन्योलता छाएकाे हाे । उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र स्थापना नगरेसम्म अरु काम अघि बढ्न नसक्ने सर्त एडिबीको रहेको हुँदा आयोजनाको काम समयमै कार्यान्वयन नहुँदा समस्या सिर्जना भएको जानकारी दिएका छन् ।

आयोजना अन्तर्गत धनगढी उप महानगरपालिकामा विभिन्न सडकको स्तोरोन्नति एवं निर्माण र नाली निर्माणका लागि करीब रु एक अर्ब २५ करोड, दिसाजन्य पदार्थ व्यवस्थापनका लागि करीब रु ३५ करोड, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि करीब रु ६० करोड वजेट विनियोजन गरिएको जनाएका छन् । फोहरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिकाको मोहना नदी किनारको शान्ति कटानमा जग्गा खोजिएकोमा स्थानीयवासीको विरोध हुँदा समस्या भएको बताउँदै फोहर व्यवस्थापन केन्द्र कहाँ स्थापना गर्ने भनेर उपमहानगरपालिकाको तर्फवाट छलफल र प्रयास जारी रहेको प्रवक्ता मुडभरीले जानकारी दिएका छन् ।

उक्त केन्द्र निर्माणका लागि जग्गाको टुङ्गो लाग्न नसक्दा आयोजनाको सम्पूर्ण काम ठप्प भएको क्षेत्रीय शहरी विकास आयोजना, एकाइ धनगढीका उप व्यवस्थापक श्यामचन्द्र बुढाथोकीको भनाई रहेको छ । उक्त केन्द्र निर्माण गर्ने विषयमा जग्गा खोजेर टुङ्गो नलागेसम्म कुनै पनि काम अगाडि नबढाउन माथिबाट नै निर्देशन आएको उप व्यवस्थापक बुढाथोकीको बताएका छन् ।

एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा कार्यन्वयन हुने भनिएको पाँचवर्षे अवधिको यो आयोजना अन्तर्गत उपमहानगर क्षेत्रका साना ठूला एक दर्जन बढी सडकको स्तरोन्नति एवं निर्माण गर्ने लक्ष्य छ । यसअन्तर्गत धनगढीको मुख्य बजारको सडकका साथै धनगढीदेखि खुटिया सडक, चटकपुर रिङ्गरोड, चटकपुर क्याम्पस रोड हुँदै जाखोर ताल सडक, धनगढी गाउँ सडक, बेली सडक, बोराडाँडी तारानगर सडक, पुरानो भन्सार रोडलगायतका सडकको स्तरोन्नति गने लक्ष्य रहेको आयोजकले बताएका छन् ।

गोदाबरी नगरपालिकामा उक्त आयोजना अन्तर्गत नगरपालिका कार्यालय भवन निर्माण, हसनपुर स्याउले सडक, गेटा अस्पतालदेखि जोनापुर सडक, हरैया चौराही रोड, लालपुर चौमाला रोड, लालपुर गेटा अस्पताल रोड निर्माणलगायतका काम गर्न लागिएको जनाइएको छ । बिना योजना शहरका रुपमा विकास हुँदैगएको धनगढी उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना नदीको कटान, ढल निकास, सडक निर्माण तथा सुधार, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोवास आदि मुख्य समस्याका रुपमा रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.