सङ्घीय सरकारकाे पाँच करोड लागतमा, कास्कीकाे मर्दीखोला पुल बन्दै

  २०७५ पुष ८ गते ११:३५     विकासन्युज

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दीखोलामा मोटरेवल पक्की पुल बन्ने भएको छ । सङ्घीय सरकारकोे रु पाँच करोड चार लाख २४ हजार १७३ लागतमा निर्माण गर्न लागिएको उक्त पुल बन्ने भएको छ । २५ मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको उक्त पुलको शनिबार युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गरेका हुन् ।

पुल निर्माणको लागि गत साउन २ गते मित्रसञ्जीवनी निर्माण सेवासँग ठेक्का सम्झौता भएको सो पुल २०७६ फागुन ३० गतेभित्र तयार गरिसक्ने सम्झौतामा उल्लेख छ । पुल नहुँदा वर्षायाममा वडाका कुईबाङ, सैँतीखोला, इयुँ, तक्रो, सिदीङ, प्रम्धु तथा घलेलका बासिन्दा यातायातको सम्पर्कबाट विमुख हुने गरेको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

पुल तोकिएकै मितिमा सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले वडाध्यक्ष क्षेत्रीको संयोजकत्वमा वडाका सबै जनप्रतिनिधि सदस्य रहेको अुनगमन समिति निर्माण गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जनप्रतिनिधिको हिसाबले पनि आफूले पुल तोकिएकै मितिमा सम्पन्न गर्न सहयोग गर्ने जानकारी दिएका छन् । गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले समृद्धिसँग जाडिएको पुल तोकिएको मितिमा गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण कम्पनीलाई पूर्ण सहयोग गर्ने बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.