सूर्यविनायक नगरपालिकाद्वारा सडक विस्तार, अवैध संरचना भत्काउन शुरु

  २०७५ पुष १ गते १५:५४     विकासन्युज

काठमाडौं । सूर्यविनायक नगरपालिकाले सडक निर्माण कार्यलाई तिव्र रुपमा अगाडी बढाएको छ । सडक विस्तार कार्यलाई महा अभियानको रूपमा लिई सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको छ । भक्तपुरको सिर्जनानगर चोकबाट नगरपालिका जाने सडकको दायाँबायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन शुरु गरेको हो ।

नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, सदस्य दीपक बिसुङ्खे लगायतको प्रत्यक्ष अनुगमनपछि सडक सिमाङ्कन गर्दै डोजर लगाएर सडकको संरचना हटाउन थालिएको हो । स्थानीय पूर्वाधार लागत साझेदारी कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा सांसद महेश बस्नेतको सांसद् कोषको रु २० लाख र नगरपालिकाको रु ३० लाख गरी कूल रु ५० लाखको लागतमा सडक विस्तार कार्य शुरु भएको नगरप्रमुख थापाले बताएका छन् ।

वडाअध्यक्ष जोशीले यसअघि नै पटक–पटक घरटहरा भत्काउन सूचना जारी गरे पनि नहटाउनेको नगरपालिकाले डोजर लगाएर भत्काउन शुरु गरेको छ । अहिले घर नभत्काउने तर मापदण्डभित्र परेको पर्खाल, पेटी र टहरा भने भत्काउने योजना अनुरूप डोजर लगाउन थालिएको हो । नगरपालिकाका इञ्जिनीयर जनक न्यौपानेका अनुसार सडक विस्तारका क्रममा गुणस्तरीयता कायम राख्न दैनिक इञ्जिनीयर सहितको टोलीले अनुगमन एवं निरीक्षण गर्ने बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.