भ्रष्टहरू जति सहयोगी होऊन्, ती राष्ट्रद्रोही नै हुन्छन्

२०७५ मंसिर २४ गते १२:५५ भीम प्रसाद उपाध्याय

भीम प्रसाद उपाध्याय, पूर्व सचिव

काठमाडौं । समुद्रमा पाइने जेलिफिसले कहिलेकाहीँ शंखेकीरालाई आहारा बनाउँछ । कवचभित्र बस्ने हुँदा शंखेकीरा पेटभित्र पनि बाँचिरहेको हुन्छ । पेटभित्र रहँदा शंखबाट मुख बाहिर निकालेर शंखेकीराले जेलिफिसको सम्पूर्ण शरीरलाई भित्रभित्रै खाएर आफू भने हुर्कंदै जान्छ । मुलुकका आन्तरिक शत्रुहरूले पनि शंखेकीरालेझैं नै समाज र राष्ट्रलाई खाँदै जान्छन् र समाप्त पार्छन् ।

भारतका दार्शनिक पूर्वराष्ट्रपति डा. सर्वोपल्ली राधाकृष्णनको भनाइ अनुसार राष्ट्र बाह्य आक्रमणबाट हैन, आन्तरिक चरित्रको स्खलनले समाप्त हुने गर्छ । सानो गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले सैनिक शक्तिका बलले मात्र शक्तिशाली एवं समृद्ध काठमाडौं राज्यलाई अधीनस्थ गरेका होइनन् । आफू शक्तिशाली भए पनि उपत्यकाका राज्यमा आपसी कलह, घोर भ्रष्टाचार एवं अराजकता व्याप्त थियो ।

कीर्तिपुरबाहेक कसैले बाह्य आक्रमणका बेला प्रतिकार गर्ने आत्मबल र चाहना प्रदर्शित गरेनन् । फलतः शक्तिशाली उपत्यकाका राज्यहरू त्यतिबेला सानो गोरखाबाट पराजित हुनुपर्‍यो । यसमा भक्तपुरे राजपरिवारको देशद्रोही चरित्रको योगदान पनि कम थिएन । उपत्यका राजपरिवारका देशद्रोही सदस्यहरूले आफ्नै राज्य समर्पण गरेर तत्कालीन शत्रु पृथ्वीनारायण शाहलाई भरपूर सहयोग गरेका थिए । तर, ती राष्ट्रद्रोहीलाई पृथ्वीनारायणले पछि कडा सजाय दिएर देशनिकाला गरेका थिए । देशद्रोही कुनै पनि राष्ट्रको नागरिक हुन लायक हुँदैनन् भन्ने पृथ्वीनारायणले मजाले बुझेका थिए । भ्रष्टहरू जति सहयोगी होऊन्, ती राष्ट्रद्रोही नै हुन्छन् ।

सुप्रसिद्ध लेखक शिव खेराले आफ्नो लोकप्रिय पुस्तक फ्रीडम इज नट फ्री को आरम्भमै भनेका छन्, यदि तपाईंकी आमालाई क्यान्सर भएको हुन्थ्यो भने, के तपाईं उनलाई मर्न छाडिदिनुहुन्थ्यो ? हाम्रो मातृभूमि पनि भ्रष्टाचारको क्यान्सरबाट पीडित छिन् । हामी कसलाई पर्खिबसेका छौँ ? मातृभूमि नेपाल पनि भयानक भ्रष्टाचार एवं तस्करीको दुःखदायी अर्थतन्त्रबाट लामो समयदेखि सञ्चालित हुँदै आएको छ । त्यसैले कसैले त्यसमा प्रहार गर्‍यो कि ठूलो कोकोहोलो मच्चिन थाल्छ । भ्रष्ट र तस्करहरू देशद्रोही हुन् । यिनलाई नियन्त्रण गर्न नसक्ने मुलुक सहजै आतंकवादको धरापमा फस्न पुग्छ । अहिले आतंकवादबाट पीडित मुलुकहरू निश्चित रूपमा भ्रष्टाचार र तस्करीबाट पनि ग्रस्त भएकै छन् । ती गरिबी र बेरोजगारीमा डुबेका हुन्छन् । गरिब नेपाल भ्रष्ट र तस्करको बिगबिगीका कारणले नै लामो समयदेखि भ्रष्टाचार र आतंकवादको चपेटामा परेको हो ।

देशद्रोही कुनै पनि बेला सक्रिय एवं निस्कृय हुने गर्छन् । मातृभूमिलाई व्यक्तिगत लाभका निम्ति बेच्नेहरू सक्रिय देशद्रोही हुन् । बेचिएको टुलुटुलु हेरी केही नगरी हात बाँधेर बस्ने निस्कृय देशद्रोही हुन् । पहिलो बेइमान हुन्, दोस्रो बेइमान र कायर हुन् । देशद्रोहीकोे छ्यापछ्याप्ती चलखेल भएको मुलुक स्वतन्त्र हुन सक्दैन । भारतका केन्द्रीय सतर्कता आयोगका पूर्वप्रमुख डा. एन भित्तल भ्रष्टाचारविरुद्ध प्रख्यात एवं सम्मानित योद्धा मानिन्छन् । डा. भित्तलका अनुसार भ्रष्टाचारका पाँच खेलाडी हुन्छन् । नम्बर एक नेता अर्थात् भ्रष्ट राजनीतिकर्मी, दुई बाबु अर्थात् भ्रष्ट कर्मचारी, तीन लाला अर्थात् उद्योगी(व्यापारी, चार झोला अर्थात् एनजिओ र पाँच दादा अर्थात् अपराधी ।

शासन व्यवस्थाको स्वच्छताका लागि यी पाँच भ्रष्टाचारका खेलाडीविरुद्ध एकैसाथ संयोजित युद्ध छेड्नुपर्छ । डा. भित्तलकै अनुसार पाँच कारणबाट शासन व्यवस्थामा भ्रष्टाचारले मलजल पाउँछ । ती नम्बर एक सेवावस्तुको अपर्याप्तता, दुई लालफिताशाही एवं विलम्बता, तीन पारदर्शिताको कमी, चार कानुनी कमजोरी, र पाँच भ्रष्टतत्त्वहरूबीच एक(अर्कालाई जोगाउने आपसी साँठगाँठ हुन् । यस्ता चरित्र र पात्र भ्रष्टाचारविरुद्धको युद्धका विषय हुनुपर्छ ।

इमानको अभाव भ्रष्टाचार हो । भ्रष्टाचार र अन्यायको मूल स्रोत खराब शासन हो । सार्वजनिक स्रोतको व्यक्तिगत उपयोग भ्रष्टाचार हो । अयोग्यता एवं भ्रष्टाचार लुकाउने अनुकूल थैलो अपारदर्शिता हो । भ्रष्टाचार राष्ट्रविरोधी, विकासविरोधी र गरिबविरोधी हुन्छ । भ्रष्टाचार व्याप्त राष्ट्रमा राष्ट्रियता र राष्ट्रिय सुरक्षा थिलथिलो परेको हुन्छ । तस्करतन्त्र र अन्तर्राष्ट्रिय आतंकवादीहरूको सुरक्षित स्वर्गस्थल बन्न पुगेको हुन्छ । भ्रष्टाचार विकास विरोधी भएकाले नै खर्बौं रुपैयाँ वैदेशिक सहयोगको खोलो बगाए पनि नेपालको आर्थिक विकास भएन । यो गरिब विरोधी भएकाले जति बजेट खन्याए पनि नेपालमा गरिब र बेरोजगारको संख्या बर्सेनि घटेन, बरु बढ्दै गयो ।

राजतन्त्र, गणतन्त्र, समाजवाद, साम्यवाद, लोकतन्त्र, जनगणतन्त्र, जनवादीतन्त्र वा जस्तोसुकै राजनीतिक प्रणालीमा पनि भ्रष्टाचारको संक्रमण समान रूपले हुन सक्छ । राजनीतिक प्रणाली र भ्रष्टाचारबीच प्रत्यक्ष सम्बन्ध छैन । भ्रष्टाचार निर्मूलनका निम्ति कुनै राजनीतिक व्यवस्था पर्खिरहनु पर्दैन । प्रतिबद्धतालाई प्रविधिको प्रयोगसाथ कार्यान्वयन गर्ने कला, विज्ञान, व्यवस्थापन सीप, उपयुक्त संस्था र सुयोग्य जनशक्तिको दरकार हुन्छ ।

समाजमा भ्रष्टाचार प्रतिको हेराइ व्यक्तिगत मूल्य, समाजमा स्थापित मूल्य प्रणाली, र मुलुकको शासनप्रणालीले निर्धारित गरेको हुन्छ । घरपरिवारको संस्कार, शिक्षादीक्षा, मातापिता र गुरुगुरुमाको प्रभावले व्यक्तिको मूल्यप्रणालीलाई रूप दिएको हुन्छ । असल संस्कारयुक्त व्यक्तिमा इमानको स्तर पनि उच्च हुन्छ । आदर्श समाज(सुधारक, सच्चरित्र राजनीतिज्ञ वा धार्मिक नेताका आध्यात्मिक, सामाजिक वा धार्मिक व्यवहारको सकारात्मक प्रभाव, बुद्धिमत्ता, सिर्जनात्मकता, सामाजिक पु‌जीबाट समाजको मूल्यप्रणाली स्थापित भएको हुन्छ ।

सामाजिक पु‌जी पर्याप्त विद्यमान मुलुकमा भ्रष्टाचारको स्तर र परिमाण पनि स्वतः कम हुन्छ । राज्य र शासन व्यवस्थाका उच्च तहमा इमानदार व्यक्ति पुग्नसक्ने शासन प्रणाली भएको मुलुकमा भ्रष्टाचारको मात्रा कम हुन्छ । इमानदार व्यक्ति शासनको आसनमा पुग्न नसक्ने राजनीतिक प्रणालीमा कानुन, प्रक्रिया, नियन्त्रण प्रणाली स्वतः भ्रष्ट हुन्छ । भ्रष्टाचारतन्त्रबाट लाभान्वित वर्गको हातबाट शासनको बागडोर नहटेसम्म भ्रष्टाचार नियन्त्रण असंभव हुन्छ । भ्रष्टाचारीहरू आफैं सच्चिँदैनन् । तिनलाई शासनको मैदानबाट हुत्याउनुपर्छ । बोका आफैंले मलाई बलि चढा भन्दैन ।

सन् १९९३ मा बम्बईमा भएको भयानक विस्फोटनमा तीन सय निर्दोष मानिसको ज्यान गएको थियो । तस्करहरूले भारतीय भन्सार अधिकृतलाई २० लाख रुपैयाँ घुस दिएर शक्तिशाली आरडिएक्स विस्फोटक भित्र्याएका थिए । नेपालमा पनि विभिन्न हतियार र विस्फोटक पदार्थ तस्करीबाटै भित्रिँदै आएको छ । बर्सेनि हजारौँ टन रक्तचन्दन तस्करीबाट अर्बौं खर्बौं रुपैयाँको कालो कारोबार निरन्तर र नियमित दशकौँदेखि भइरहेको हो । यस्ता कालो धन कहाँकहाँ, कसरी उपयोग भएका होलान् ? यसमा कहाँदेखि कहाँसम्मका मानिस साझेदार वा मतियार भए होलान् ? वर्षौंदेखि कालो धन्दामा मतियार हु‌दै आएका तिनै व्यापारी, सुरक्षा अधिकारी, राजनीतिकर्मी, कर्मचारीकै हातमा शासन प्रशासन रहिरहे मुलुकको भविष्य सुरक्षित एवं निर्मल हुन सक्ला ?

भ्रष्टाचारको कारणले विश्व बैंककै एक अध्ययनअनुसार विकासशील मुलुकमा भित्रिने विदेशी सहयोगको १२ प्रतिशत मात्र प्राप्त मुलुकमा खर्च हुन्छ, बाँकी दातामा नै र्फकन्छ । सन् २००५ मा भ्रष्टाचार निर्मूलन गर्ने प्रमुख एजेन्डा साथ पद सम्हालेका विश्व बैंकका अध्यक्ष पाउन उल्फोबित्ज आफैं भ्रष्टाचारका कारण पदमुक्त हुनुपर्‍यो । भ्रष्टाचारका कारणबाट पर्यावरण ध्वस्त हुन पुग्छ र यसले सबैभन्दा पहिलो सिकार गरिबलाई बनाउँछ । जुन मुलुकमा स्रोतको अभाव हुन्छ त्यहाँका विकास आयोजनाको चयनमा भ्रष्टहरू नै निर्णायक बनेका हुन्छन् । कथित प्राविधिक वा आर्थिक संभाव्यता अध्ययनको बहाना गरेर ठेकेदार, कन्सल्ट्यान्ट, कमिसनखोर, नेता, उच्च प्रशासकहरूले आफूलाई लाभ पुग्ने गरिब विरोधी योजना निर्माण गर्छन् । सामाजिक असन्तुलनको खाडल चौडा हुनपुग्दा शान्तिसुरक्षा जटिलबाट झन् जटिल हुन पुग्छ र सामाजिक अमनचैन खराब हुन पुग्छ ।

नेपाललाई समृद्ध नेपालमा परिणत गर्न भ्रष्टाचारप्रति निर्मम गर्नु प्रहार प्रथम र महत्त्वपूर्ण कार्य हो । विगतका भ्रष्टाचारको आहालमा पौडी खेल्दै आएका तिनै नेता, कर्मचारी, उद्योगी(व्यापारी, बुद्धिजीवी, पेसाधर्मीकै भरमा यो कार्य पूरा हुने आशा गर्नु महाभूल हुनेछ । यो काम ती राजनीतिक दल र कर्मचारी, जसले हिजोको भ्रष्ट आहालमा पौडी खेलेका छैनन्, ती युवा वर्ग जो भ्रष्टाचारको ढलबाट अझै गुज्रिसकेका छैनन्, ती प्रतिबद्ध नैतिकवान् राष्ट्रप्रेमी पत्रकार, बुद्धिजीवीहरू जो असंदिग्ध, स्वच्छ, निर्मल छन्, तिनका बीचको सक्रिय एवं समन्वयात्मक सहकार्यबाट मात्र सफल हुनेछ ।

राष्ट्र नागरिकको पहिचान हो । राष्ट्र छैन, मानिसको पहिचान छैन । मानिसको पहिचानका लागि राष्ट्र जीवित, जीवन्त, समुन्नत र समृद्ध हुनुपर्छ । भ्रष्टाचारमुक्त मुलुकले मात्र अन्तर्राष्ट्रिय प्रतिष्ठा र पहिचान पाउन सकेको हुन्छ । भ्रष्टाचार वित्तीय एड्स रोग हो । एड्स रोगीमा छुद्र संक्रमणलाई पनि प्रतिकार गर्ने सामर्थ्य रहँदैन । नेपाल देश द्रोहीहरूको बदनाम मुलुक बन्दै जानुको कारण यही भ्रष्टाचार एवं तस्करीको एड्स रोगले गाँजेकाले हो । त्यसको प्रतिकार हुन नसकेकाले हो ।

सित्तैमा केही पाइन्न, स्वतन्त्रता त झन् के को सित्तैमा पाइन्छ र ? बितेको पुस्ताले थुपारेको भ्रष्टाचारको फोहरमैलाका कारण मौलाएको तस्करीको अर्थतन्त्रमा टिकेको यो मुलुक अहिले जति पराधीन बन्ने डीलमा पुगेको भए तापनि सुनौलो नेपालको भविष्य निर्माणार्थ् त्यस फोहरलाई सफा गर्ने दायित्व र चुनौतीलाई वर्तमान नयाँ पुस्ताले बेहोर्नुको विकल्प छैन । जे हुनु थियोे, सो भयो । अहिले त समृद्ध नेपालको सपनालाई विपना बनाउने दायित्व इतिहासले नयाँ पुस्ताको काँधमा बिसाइसकेकोे छ । आगे जो नयाँ पुस्ताको इच्छा । महान् अमेरिकी वैज्ञानिक इन्जिनियर चार्ल्स किटरिङ भन्छन्, मेरो रुचि भविष्यमा मात्र छ । किनभने, मैले मेरा बाँकी सारा जीवन त्यहीँ व्यतीत गर्नु छ ।
अब विगतलाई सरापेर समय खेर फाल्नु बुद्धिमानी होइन ।