मन्त्रीसँगै झाडु बोकेर ‘काठमाडौं सफा गर्न’ निस्किए मेयर शाक्य र उप मेयर खड्गी

  २०७५ मंसिर २२ गते १३:४९     विकासन्युज

काठमाडौँ । शनिबार बिहानै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ झाडु लिएर काठमाडौंका सडकमा झुल्किए, उनीसँगै थिए काठमाडौंका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी ।

मंसिर ८ गते शनिबारदेखि सुरु भएको ‘शहरी सौन्दर्य प्रवद्र्धन सघाउ अभियान’लाई निरन्तरता दिँदै उनीहरुले सडकमा झाडु लगाएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि काठमाडौँ महानगरपालिकाले रात–दिननभनी सरसफाई अभियानलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरे ।

मन्त्री महासेठले राजधानी भित्रिने नाकाबाट आएको धुलोका कारण पनि महानगर फोहोर भएको भन्दै अब जेठ मसान्तासम्म सबै ठिक हुने दाबी गरे । ‘म तपाईँहरुसँग जेठ मसान्तासम्मको समय माग्छु । त्यो बेलासम्ममा कलंकी–नागढुंगाको बाटो पनि बनिसक्ने छ,’ उनले भने, ‘त्यतिबेलासम्म काठमाडौँ महानगरपालिका र हामी मिलेर आवश्यक पर्यो भने प्रदेश सरकारसँग पनि साथ लिएर महानगरपालिका सफा गर्ने छौँ ।’
‘सहरी सौन्दर्यीकरण बढाउन यो अभियानलाई निरन्तरतादिने तयारी गरेका छौँ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भने, ‘अहिले धरहरा, दरवार हाइस्कुल, वीर अस्पताल र रत्नपार्कमा ठूला–ठूला भौतिक संरचना निर्माण भैरहेका छन् । यी संरचनाका लागि आवश्यक निर्माण सामाग्री ढुवानी गर्ने साधनले जथाभावी धुलो, गिट्टी, बालुवा नझार्ने हो र ठेकेदारहरुले पनि यति कुरामा मात्रै ध्यान दिने हो भने महानगर सफा राख्ने हाम्रो अभियान धेरै हदसम्म सफल हुने थियो ।’

उपमेयर हरिप्रभा खड्कीले पनि विकास जादूको छडी जस्तो नभएको भन्दै विस्तारै विकासको अभियान अघि बढ्ने बताइन । उनले अब महानगरपालिका सरसफाई अभियानमा जुटेको दाबी समेत गरे । शनिबार दुई चरणमा सरसफाई अभियान सञ्चालन गरिएको थियो । शान्ति वाटिकाबाट मन्त्री महासेठ, मेयर शाक्य र उपमेयर हरिप्रभा खड्कीले सरसफाई अभियानको सुरुवात गरेका थिए । त्यहाँबाट सुरु भएको अभियान भोटाहिटी, जमल हुँदै महाराजगञ्ज तिर अघि बढेको थियो । दोस्रो चरणको अभियान महाराजगञ्जबाट टिचिङ हस्पिटल हुँदै लाजिम्पार्टतर्फ आएको थियो ।

यस क्रममा सडक पेटीमा रहेका ¥याम्प हटाएर सडकको ढल तथा साइट ड्रेन जेट मेशिनले सफा गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत, टेलिफोन तथा केवलका पोल तथा तार, खाने पानीका पाइप, निर्माणजन्य फोहोर हटाउने, सडकमा मार्किङ् गर्ने तथा मर्मत गर्ने काम भएका थिए । सफाइका लागि ५ वटा जेट, २ वटा ब्रमुर, २ वटा स्काभेटर र ३ वटा फोहोर संकलन गर्ने सवारी साधनको प्रयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.