छोसेर–कोरला सडक स्तरोन्नति, ४८ करोड लागत लाग्ने अनुमान

  २०७५ मंसिर १९ गते १३:४८     विकासन्युज

काठमाडौं । चीनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भएको छ । कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति गरेको हो ।

जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति आयोजना मध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सकिएको आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले बताएका छन् । ट्र्याक मात्र खोलिएको अवस्थामा रहेको सडकलाई ११ मिटर फराकिलो, नाली, ग्यावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको छ ।

२०७३ देखि सडक स्तरोन्नतिको काम शुरु भएको उक्त सडक निर्माणमा ४८ करोड लागत लाग्ने अनुमान गरिएको छ । छोसेर–कोरला सडक स्तरोन्नतिका लागि दिवा–रौताह–एपेक्स जेभीले २९ करोडमा ठेक्का लिएको थियो । समुद्री सतहदेखि चार हजार ६०० मिटरको उचाइको भूगोलमा प्रतिकूल मौसम भएपनि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर सम्झौता अवधिभित्रै काम सकेको निर्माण कम्पनीका प्रतिनिधि सकबहादुर लालचनले बताएका छन् ।

यस ११० किलोमिटर दूरीको जोमसोम–कोरला सडकअन्तर्गत अन्य छवटा प्याकेजको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी रहेको आयोजनाले जनाएको छ । सडक स्तरोन्नतिसँगै कोरला नाका खुलाउनका लागि सुरक्षा तयारी र चीन सरकारसँग कूटनीतिक पहल भइरहको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.