सिटामोलका लागि सातघण्टा हिड्नु पर्ने स्थानियमा स्वास्थ्यसंस्थासँगै हर्ष थपियो

  २०७५ मंसिर १६ गते १४:०२     विकासन्युज

काठमाडौं । मार्मा गाउँपालिका–६ जन्नीगाउँमा सिटामोलका लागि दैनिक सात घण्टा उकाली ओराली गर्दै लटिनाथ स्वास्थ्य चौकीसम्म झर्नु पर्ने थियो। सिटामोलको लागि घरबाट स्वास्थ्यचौकी पुग्न ओराली दुई घण्टा र उकाली पाँच घण्टा गर्दा झण्डै सात घण्टा धाउनुपर्ने अवस्था अवस्था रहेको थियो ।
स्थानीय सरकार गठन भएको डेढवर्षमै मार्मा गाउँपालिकाले गाउँगाउँमा सुविधा पुग्नेगरी सामुदायिक स्वास्थ्य एकाई थपेसँगै दुर्गम गाउँका नागरिकले सहज स्वास्थ्य सेवा पाउन थालेका छन् ।

स्थानीय सरकारले स्वास्थ्यचौकीबाट टाढा रहेका बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ थपेपछि स्थानीयवासीको स्वास्थ्य चेकजाँच गर्ने गरेको छन् । मार्मा गाउँपालिका–६ को विकट बस्ती जन्नीगाउँ, माङदाङ र छिपान बस्तीका लागि माङदाङमा एकाइ स्थापना गरेपछि समस्या समाधान भएको स्थानीयवासीले जनाएका छन् । गाउँमा सिंहदरबार आएको अनुभूति बल्ल गर्न पाएको भन्दै माङदाङमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले उद्घाटन गरेका छन् ।

सामुदायिक स्वास्थ्य एकाइसँगै सामुदायिक स्वास्थ्य एकाइमा अहेब श्यामसिंह महता र अनमीको रुपमा कान्ती डडाललाई नियुक्त गरिएको छ । दुर्गम बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य समस्याबाट वञ्चित नहोस् भन्नका लागि सो एकाइ स्थापना गरिएको छ । गाउँसभाको निर्णय अनुसार स्वास्थ्य एकाइ स्थापना गरिएको हो ।

भवन निर्माणका लागि यसवर्ष छ लाख बजेट विनियोजन गरिएको छ । चाँडै सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सेन्टर स्थापनाको प्रक्रिया थालिने बताउँदै गाउँपालिकाले प्रसूति गर्न महिलालाई टाढा हिँड्न नदिने लक्ष्य लिएको जनाएको छ । यसैवर्ष गाउँपालिका–१ ताकुमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरि सकिएको छ ।

आउँदा जाँदा आठ घण्टा बढी लाग्ने ठाउँका नागरिकको लागि सहजताका लागि स्थापना गरिएको हो । ताकुमा स्थापना गरिएको स्वास्थ्य एकाइको भवन निर्माणका लागि यसवर्ष १३ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले हरेकवर्ष दुर्गम बस्तीमा स्वास्थ्य सेवा पर्याउने लक्ष्य राखेको जनाएको छ ।

यसैवर्ष गाउँपालिका–६ शेरीमा बर्थिङ सेन्टर स्थापना गरिएको मार्मा गाउँपालिका एकाइ प्रमुख चक्रसिंह धामीले बताएका छन् । मार्मा गाउँपालिका केन्द्र लटिनाथमा रहेको स्वास्थ्यचौकीलाई क्रमशःअस्पतालको रुपमा विकास गर्ने प्रक्रिया अगाडी बढेको छ ।

सुविधा सम्पन्न भवन निर्माण गरिएकाले डाक्टरको खोजी भइरहेको बताइएको छ । गाउँपालिकाबाटै भए पनि लटिनाथमा डाक्टर व्यवस्थापन गरेर मार्मा र अपी हिमाल गाउँपालिकाका लागि सेवा पुग्ने अध्यक्ष धामीको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.