जोशी हाइड्रोपावरको आईपीओ आजदेखि, कति भर्ने ? किन नभर्ने?

  २०७५ मंसिर १६ गते ८:३५     विकासन्युज

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइतबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) अावेदन खुला भएको छ । हाइड्रोपावरले १६ करोड ९० लाख ४७ हजार बराबरका १६ लाख ९० हजार ४ सय ७० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । उक्त आईपीओका छिटोमा बुधबार र ढिलोमा पुस १५ गते निष्कासन बन्द हुनेछ । उक्त शेयर आवेदकले न्यूनतम ५० कित्ता देखि अधिकतम ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

जोशी हाइड्रोपावरको अवस्था

जोशी हाइड्रोपावर क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले गरेको रेटिङमा ‘इक्रा रेटिङ आईपीओ ग्रेड ५’ प्राप्त कम्पनी हो । यो ग्रेडिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा पनि कमजोर रहेको देखाउँछ ।

इलाम जिल्लामा पूवा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको उक्त कम्पनीले यसअघि स्थानीयवासीका लागि निष्कासन गरेको शेयरमध्ये करिब ३३ प्रतिशत शेयरका लागि मात्र आवेदन परेको थियो । आवेदन नपरेका शेयर समेत सर्वसाधारणका लागि खुला गरिएको छ ।

आयोजनाले हालसम्म प्रति मेगावाट १८ करोड रुपैंया लागत अनुमान गरेको छ । यही लागतमा निर्माण सम्पन्न भए यो लागत औसत लागत बराबर नै हुनेछ । आईपीओ निष्कासनबाट प्राप्त हुने रकममध्ये १२ करोड रुपैंया ऋण तिर्न र बाँकी अन्य दायित्वहरु भुक्तानी गर्न प्रयोग हुनेछ ।

निर्माणको चरणमा रहेको यो हाइड्रोपावर यो वर्षसम्म घाटामा रहे पनि आगामी वर्षदेखि नाफामा जाने प्रक्षेपण गरिएको छ । नाफामा गए पछि आगामी २ वर्ष क्रमशः ५.१२ र ६.०४ रुपैंया प्रतिशेयर आम्दानीको प्रक्षेपण गरिएको छ ।

उक्त कम्पनीले लगानी फिर्ता गर्ने समय ११ वर्ष र त्यसको ब्याजदर अनुमान गरी डिस्काउन्टसहितको शेयर फिर्ता गर्ने समय ३० वर्ष छ । ३० वर्षपछि आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ ।

बिक्ला सबै शेयर ?

तुलनात्मक रुपमा कम शेयर भए पनि कमजोर प्रतिफलका कारण उक्त कम्पनीको शेयरमा लगानीकर्ताकाे अाकर्षण कम हुन सक्छ ।  यद्यपि २९ करोड रुपैंया हाराहारीमा लागत भएको आँखुखोला हाइड्रोपावरको शेयरमा समेत निष्कासनभन्दा बढी माग भएको अवस्थामा यो हाइड्रोपावरको सबै कित्ता शेयरका लागि अावेदन पर्न सक्छ ।

कति भर्ने ? 

कुनै पनि कम्पनीको शेयरका लागि आवेदन गर्ने वा नगर्ने भन्ने निर्णय कम्पनीको प्रतिफलको अवस्था तथा बजारमा निष्कासन भएका अन्य कम्पनीको प्रतिफलको अवस्था विचार गरेर निर्णय गर्ने विषय हो । त्यसबाहेक लगानीकर्ताको लगानी विविधिकरणमा पनि यो निर्णय निर्भर हुन्छ । एकातिर इक्राको रेटिङले यो कम्पनी कमजोर रहेको देखाउँछ भने अर्काेतर्फ लगानी फिर्ता अवधि ३० वर्ष रहेको कम्पनीकाे विवरण पत्रमा उल्लेख छ । ३० वर्षपछि आयोजना सरकार मातहत जाने भएकोले पनि लगानीकर्ताको आकर्षण यसमा नहुन सक्छ । तर सेयर बजारमा केही वृद्धि भएकाे अवस्थामा अहिले लगानी गर्नेले राम्रा लाभ लिने सम्भावना हुन्छ ।

कम्पनी शेयरका लागि आवेदकले आवेदन गर्ने सबै वा अधिकांश शेयर पर्ने सम्भावना छ त्यसैले आवेदकले आफ्नो पोर्टफोलियो अनुसार आवेदन गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.