मुक्तिनाथ विकास बैंकले १८ प्रतिशत बोनस र २० प्रतिशत हकप्रद जारी गर्ने, सेयर मूल्य बढ्यो

  २०७५ मंसिर ९ गते १५:००     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १८.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.९३ प्रतिशत अर्थात २ करोड ४८ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले उक्त बोनस पश्चात कायम हुन आउने चुक्ता पुँजीमा २० प्रतिशत अर्थात १० बराबर २ का दरले हकप्रद सेयर जारी गर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । १८.२५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । त्यसपछि उक्ता पुँजीमा २० प्रतिशत हकप्रद जारी पछि कम्पनीको नयाँ चुक्ता पुँजी ३ अर्ब ६७ करोड रुपैयाँ नाघ्ने छ ।

कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको १२औँ वार्षिक साधारणसभा यही मंसिर २९ गते बस्दै छ । सो प्रयोजनको लागि मंसिर १८ गतेदेखि मंसिर २९ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।

कम्पनीले बोनस घोषणासँगै लगानीकर्तामा खुसी छाएको सेयर मूल्यले संकेत गरेको छ । आइतबार कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ । बिहीबार प्रतिकित्ता ४०९ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य आइतबार ५ रुपैयाँ अर्थात १.२२ प्रतिशतले बढेर प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.