बजार मूल्य ९९ हुँदा प्रोग्रेशिभ फाइनान्सको २१ लाख कित्ता सेयर लिलामीमा, पुँजी नपुग्दा फाइनान्स संकटमा

  २०७५ मंसिर ४ गते १०:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी ८० करोड रुपैयाँ पुर्याउन नसकेपछि प्रोग्रेशिभ फाइनान्स लिमिटेड संकटमा परेको छ । फाइनान्सले १ बराबर २.८१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेकोमा सबै सेयर बिकेको छैन ।

हकप्रद सेयर नबिकेपछि फाइनान्सले २१ लाख २० हजार ६०४ कित्ता सेयर लिलामीमा राखेको छ । फाइनान्सले ४ लाख ४८ हजार ६४९ कित्ता संस्थापक सेयर र १६ लाख ७१ हजार ९५५ कित्ता साधारण सेयर लिलामीमा राखेको हो ।
उक्त सेयर लिनको लागि मंसिर १० देखि २४ गतेसम्म आवदेन गर्न सकिने फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ ।

उक्त फाइनान्सको सेयर आईतबार ९९ रुपैयाँमा कारोबार भएको छ । सोमबार १ रुपैयाँ बढेर १०० रुपैयाँमा कारोबार भएको छ । अंकित मूल्य भन्दा कारोबार मूल्य कम भएकोले टेण्डरमा राखिएको हकप्रद सेयर बिक्री हुने सम्भावना कम रहेको छ ।

गत वर्ष हकप्रद सेयर जारी गर्ने घोषणासँगै प्रतिकित्ता २४० रुपैयाँसम्ममा कारोबार भएको फाइनान्सको सेयर मूल्य निरन्तर घट्दै आएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २१ करोड मात्र छ तर नेपाल स्टक एक्स्चेञ्जले उक्त फाइनान्सको चुक्ता पुँजी ८० करोड भनेर झुटो विवरण राखेको छ ।

फाइनान्सको वित्तीय अवस्था सन्तोषजनक छैन । निक्षेप जम्मा ७० करोड छ भने कर्जा ६१ करोड रुपैयाँँ मात्र छ । पुँजी प्रयाप्तता ४४ प्रतिशत छ । यसले पुँजी अधिक भएको, व्यवसाय विस्तार गर्न नसकेको संकेत गर्छ । फाइनान्सको बेस रेट १४.१५ प्रतिशत छ । पहिलो त्रैमासमा फाइनान्सको नाफा १ करोड ७८ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.