
काठमाडौं । निजी क्षेत्रका जलविद्युत् उद्यमीहरुको सक्रियतामा नेपालमा दोस्रोपटक जलविद्युत् एक्सपो हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको आयोजना र इभेन्ट सोलुसनको व्यवस्थापनमा आगामी माघ ४ गते देखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।
उर्जा क्षेत्रको विकासमा नयाँ आयाम प्रदान गर्न उक्त एक्सपोको आयोजना गर्न लागिएको राजधानीको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा सम्बद्ध पक्षले जानकारी दिएको छ । एक्सपोले हाइड्रो क्षेत्रसँग सरोकार राख्ने विद्यार्थी, इञ्जिनियर, मेकानिक एवं पत्रकारहरुलाई हाइड्रोका विविध आयामहरुको बारेमा जानकारी दिने उद्देश्य राखिएको संस्थाका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए । उक्त एक्स्पोमा जानकारी दिएका विषयबारे दर्शकले थप जानकारी लिन चाहेमा उनीहरुलाई न्यून शुल्कमा हाइड्रोपावर प्रोजेक्टको भ्रमण समेत गराउने लक्ष्य लिइएको छ ।
एक्स्पोमा स्वदेशी र विदेशी गरी करिब १०० स्टलहरु रहनेछन् । एक्सपोले ठूलो संख्यामा दर्शक भित्र्याउने भन्दा पनि हाइड्रोसँग सरोकार राख्ने क्षेत्रका धेरैभन्दा धेरैलाई समेट्ने लक्ष्य लिइएको अध्यक्ष गुरागार्इँले बताए । एक्स्पोमा व्यवथापन एवं इञ्जिनियरिङ संकायका बिद्यार्थीहरुका बीचमा प्रतिस्पर्धा गराउने बताइएको छ । एक्स्पोमा ग्रिड कनेक्ट र सोलार सिस्टम आकर्षणको केन्द्र बन्ने विश्वास आयोजकको छ ।
गत बर्ष पनि यस्तै प्रकारको एक्स्पो गरिएको थियो । उक्त एक्सपोमा ५० हजार भन्दा बढीको सहभागिता थियो ।