काठमाडौं । अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो ।
हङकङ निवासी व्यवसायी कादुरी परिवारको सहयोगमा पुल निर्माण गरिएको हो । पुल नहुँदा पर्यटकलाई झण्डै एक घण्टा लामो दूरीमा ओरालोउकालो गर्नुपर्ने बाध्यता रहेको थियो । पुल २८७ मिटर लामो तथा १३५ मिटर उचाइको रहेको छ ।
निर्माण समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष हिमबहादुर गुरुङले वर्षौँदेखिको आफूहरुको सपना पूरा भएको भन्दै सहयोगी कादुरी संस्थाप्रति धन्यवाद अर्पण गरे । उनले पुल निर्माणमा करीब १ करोड खर्च भएको जानकारी दिए ।
उक्त पदमार्गमा वार्षिक रूपमा एक लाखसम्म बाह्य पर्यटक राउण्ड अन्नपूर्ण पदयात्राका लागि जाने गरेका छन् । रासस