९ अर्ब लागतमा मस्र्याङ्दी करिडोर प्रसारणलाइनको काम अघि बढ्यो, ४ वर्षमा सकिने

  २०७५ कार्तिक ८ गते १६:३१     रमेश लम्साल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर विद्युत् प्रसारणलाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया शुरु गरेको छ ।मस्र्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र निर्माणमा जाने तयारीका आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । सो करिडोरमा १ हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणक्रममा छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सब स्टेसन तथा प्रसारणलाइन बनाइसक्ने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन् । उनले केही महीनाअघि प्रसारणलाइन तथा त्यस भेगमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी प्रसारणलाइन निर्माण प्रक्रिया शुरु भएको बताएका थिए ।

कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोर प्रसारणलाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । मस्र्याङ्दी करिडोरअन्तर्गतको लमजुङको उदिपुर र चितवनको भरतपुरमा २२०÷१३२÷३३ केभी क्षमताको सबस्टेसन बनाउन ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रतिस्पर्धामा रहेका कम्पनीको प्राविधिक प्रस्ताव मूल्याङ्कन गरी सारभूतरुपमा प्रभावग्राही कम्पनीको आर्थिक प्रस्ताव खोलिसकिएको छ । अहिले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीको प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको आयोजनाले जनाएको छ । प्राधिकरणले करिडोरको पहिलो खण्डमा पर्ने मनाङ (धारापानी०–खुदी–उदीपुर र लमजुङ) प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि ठेकेदार छनोटका लागि ठेक्का सार्वजनिक गरेको छ ।

प्राधिकरणले मनाङको धारापानी र लमजुङको खुदी तथा उदिपुरमा पनि २२०÷१३२÷३३ केभीको सबस्टेसन निर्माण गर्नेछ । इच्छुक कम्पनीलाई आवेदन दिन १८ मङ्सिरसम्मको समयसीमा दिइएको आयोजनाले जनाएको छ । छनोट भएको कम्पनीले तीन वटा सबस्टेसन र धारापानी–उदिपुर करीब ४६ किलोमिटर प्रसारणलाइनको निर्माण गर्नेछ । उदिपुर–भरतपुर खण्डमा पर्ने करीब ६४ किलोमिटर प्रसारणलाइन निर्माण गर्न ठेकेदार छनोट गरी काम शुरु भइसकेको छ । युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋणमा मस्र्याङदी करिडोर प्रसारण लाइनको निर्माण गर्न लागिएको हो ।

आयोजनाको अनुमानित लागत ९ अर्ब रुपैयाँ रहेको छ । यसको निर्माण आर्थिक वर्ष २०७८÷७९ मा सक्ने लक्ष्य छ । स्थानीयवासीले प्रसारणलाइन परिवर्तन गर्नुपर्ने माग राख्दै खुदी–उदीपुर खण्डमा पर्ने केही क्षेत्रमा विरोध गरिरहेका छन् । उनीहरुको मागलाई सम्बोधन गर्ने प्रयास भइरहेको छ ।

दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्न ११ किलोमिटर स्थानीय कीर्तिपुर–उदिपुर १३२ केभी ‘डबल सर्किट’ प्रसारणलाइन बनाउन ठेक्का सम्झौता भई निर्माण शुरु भइसकेको छ । उदिपुरमा सबस्टेसन निर्माण गर्न ठेकेदार छनोट अन्तिम चरणमा पुगेकाले दोर्दी करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् खेर नजाने अवस्था देखिएको छ । उदीपुरमा सब स्टेसन र उदिपुर–मार्किचोक (तनहुँ) प्रसारणलाइन निर्माण भएमा दोर्दी करिडोरमा निर्माण भएका आयोजनाको विद्युत् प्रसारण प्रणालीमा जोड्न समस्या नहुने प्राधिकरणको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङले आयोजनाको एक युनिट विद्युत् पनि खेर जान नदिने र त्यसका लागि हरसम्भव सबै प्रयास गर्ने जानकारी दिए । सो प्रसारण लाइनमा २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख लगायतका जलविद्युत् आयोजनाको विद्युत् जोडिनेछ ।

उदिपुर–मार्किचोक (तनहुँ–भरतपुर) प्रसारणलाइन निर्माणका लागि ठेकेदार छनोट भइ काम शुरु भइसकेको छ । मार्किचोक र काठमाडौँको मातातीर्थमा सबस्टेसन निर्माण भइरहेको छ । मस्र्याङ्दी करिडोर प्रसारणलाइनबाट प्रवाह भएको विद्युत् मार्किचोकबाट मस्र्याङ्दी र काठमाडौँ आउनेछ । मार्किचोक–काठमाडौँ २२० केभी लाइनको निर्माण धमाधम भइरहेको छ । लाइन तथा सबस्टेसनको निर्माण आगामी वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.