महिलाहरुको पेट नचिरि शल्यक्रिया गर्ने नयाँ प्रविधि र त्यसका फाइदाहरु- डा. रंगिना शाह 

  २०७५ भदौ ४ गते १३:०९     विकासन्युज

डा. रंगिना शाह

पाठेघर बाहिर नली, डिम्बासय, पेट र पहिला अप्रेशन गरेको पाठेघरको घाउमा गर्भ रहेको अवस्थालाई इक्टोपिक प्रेग्नेन्सी भनिन्छ । इक्टोपिक प्रिग्नेन्सी प्राय जसो महिनावारी रोकिएको दुईदेखि चार हप्तामा थाहा पाउन सकिन्छ । यस प्रकारको गर्भावस्थामा बच्चाको आकार बढ्दै जाँदा नली अथवा डिम्वाशय फुटेर महिलाको ज्यान समेत जाने सम्भावना रहन्छ ।

कम उमेरका महिलाहरुमा यस प्रकारको गर्भ बस्ने सम्भावना रहन्छ । १६-२० र ३५-४० वर्ष उमेर समूहका महिलाहरुमा इक्टोपिक प्रिग्नेन्सी हुन सक्ने अनुसन्धानले समेत बताएको छ । पाठेघरमा संक्रमण, परिवार नियोजनको साधन जस्तोः कपरटीको प्रयोग, टेष्टट्युव बेबी उपचार गर्ने र पहिला इक्टोपिक गर्भ भएका महिलाहरुमा पुनःइक्टोपिक प्रिग्नेन्सीको समस्या देखिने सम्भावना रहन्छ ।

इक्टोपिक प्रिग्नेन्सीको उपचार ल्याप्रस्पोपिक दुर्बिन प्रविधिबाट विना समस्या सजिलै गर्न सकिन्छ । यो पेट चिरेर शल्यक्रिया गर्ने जस्तो पुरानो प्रविधि होइन । यसमा शल्यक्रियाको आवश्यकता छैन । अत्यन्त लाभदायक तरिकाले ल्याप्रोस्कोपिक सर्जरी गरेर समस्याबाट छुट्कारा दिलाउन सकिन्छ ।

ल्याप्रस्कोपिक दुर्बिन प्रविधिबाट शल्यक्रिया गर्दा चिरेर गरिने शल्यक्रियाको जस्तो नली वा डिम्बासय फाल्नुपर्ने अवस्था धेरै कमैमा हुन्छ । ल्याप्रस्कोपिक दुर्बिनको माध्यमबाट फुटेको नली वा फुटेको डिम्बासय फ्याल्नुपर्ने जरुरत पर्दैन । यसका साथै नली अथवा डिम्बासयलाई सिलाएर नयाँ बनाउन सकिन्छ । यो महिलाहरुका लागि एउटा महत्वपुर्ण फाइदा जनक उपचार प्रविधी हो । नेपालमा इक्टोपिक प्रेग्नेन्सीका कारण उच्च रक्तचाप भएर एकदमै जटिल अवस्थामा अस्पताल आइपुग्ने महिलाहरुमा ल्याप्रस्पोपिक दुर्बिन प्रविधिको उपचार निकै प्रभावकारी सावित भएको छ ।

त्यसैले हरेक महिलाले महिनावारी रोकिएर गर्भ बसेको शंका लाग्ने बित्तिकै स्त्रीरोग विशेषज्ञसँग जाँच गराएर गर्भ बसेको ठाउँ पत्ता लगाउनुपर्छ । विकसित देशहरूमा अधिकांश रोग पहिचान र उपचारको लागि ल्याप्रोस्कोपी प्रविधी प्रयोगमा छ । तर, नेपालमा भने यो प्रविधी भित्रिएको धेरै समय भएको छैन । नेपालमा पनि ल्याप्रोस्कोपी प्रविधीको प्रयोग बढाउन सके यसबाट धेरै नेपालीले उत्कृष्ठ सेवा पाउनेछन् ।

ल्याप्रोस्कोपी प्रविधीबारे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर डा. रंगीना शाह यसो भन्छिन् : नेपालका केही अस्पतालहरूले स्त्रीरोगको पहिचान र उपचारमा यो प्रविधी प्रयोगमा ल्याइसकेका पनि छन् । ल्याप्रोसकोपी भनेको धेरै चीरफार नगरी दुरबिनबाट गरिने सर्जरी (शल्यक्रिया) हो । ल्यप्रोसको विधीबाट स्त्रीहरूमा बच्चा निकाल्ने बाहेक धेरै रोगको शल्यक्रिया गरिन्छ । सामान्य शल्यक्रियाभन्दा कम समय, कम दुखाई हुन्छ । साथै अन्य धेरै दृष्टिबाट यो प्रविधी उपयुक्त मानिन्छ । जहाँ दुखेको हो वा सम्भावित स्थानमा सानो प्वाल पारिन्छ र दुरबिन छिराई त्यहि अंगको अवस्था हेरी उपचार गरिन्छ ।

यस प्रविधिका फाइदाहरू :

पुरानो प्रविधीबाट शल्यक्रिया गर्दा १० सेन्टीमिटर चिर्नुपर्छ भने, यो प्रविधिबाट एक सेन्टीमिटर ।
दुखाई कम हुने ।
रगत कम बग्ने ।
घाउ छिटो निको हुने ।
अस्पतालमा धेरै समय बस्नु नपर्ने ।
बिरामीलाई शारीरिक तथा मानसिक तनाव कम हुने ।

ल्याप्रोसकोपीबाट सहज उपचार हुने रोगहरू :

पाठेघरबाट धेरै रगत बगेमा । पाठेघरमा ट्युमर पलाएमा ।
बच्चा पाठेघरको नलीमा बसेमा ।
डिम्ब नलीमा ट्युमर पलाएमा ।

पुरानो प्रविधी र यो ल्याप्रोसकोपीको अन्तरः

पुरानो प्रविधीबाट शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पारेर समस्या देखिएको अंगको माथिल्लो भागमा १० सेन्टीमिटर चिरिन्छ । छालाको २र३ तह चिर्नुपर्ने हुन्छ । तर, ल्याप्रोसकोपीबाट शल्यक्रिया गर्दा एकसेन्टीमिटरको सानो प्वाल पारी दुरबिन छिराई सम्बन्धीत स्थानको अबस्था हेरिन्छ र आधा आधा सेन्टीमिटरका प्वाल पारी आवश्यक औजारको सहायताले शल्यक्रिया गरिन्छ ।

ल्याप्रोसकोपी प्रविधी निकै प्रभावकारी भए पनि नेपालको सन्दर्भमा भने यसबारे केही भ्रम छन् । महंगो छ, रोग निदन हुन लामो समय लाग्छ, एकपटक रोग निको भएपनि दोहोरिन्छ भन्ने धेरैमा भ्रम छ । तर, त्यसो होइन ।
यो पुरानो पद्धतिबाट शल्यक्रिया गरे जत्तिनै मात्र पैसा लाग्छ । रोग पनि छिटो निको हुन्छ । हरेक दृष्टिले यो उपचार पद्धति उत्कृष्ठ छ ।

(डा. शाह अल्का हस्पिटलकाे स्त्री तथा प्रशुति विशेषज्ञ एवं ल्याप्रो स्कोपिक सर्जन हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.