७५ प्रतिशत शिक्षण संस्था चल्ते चलाते अवस्थामा छन्- रमेश शिलवाल

  २०७५ असार १७ गते १४:३०     विकासन्युज

रमेश शिलवाल, अध्यक्ष, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल

तपाई एसईई दिएका विद्यार्थीहरुलाई कस्ता विषय र कस्ता कलेज छान्न सुझाव दिनुहुन्छ ?

पहिलो कुरा विद्यार्थीको चाहना, रुची के हो भनेर बुझ्नु पर्छ । उसले कुन बिषयमा आफ्नो शिप र क्षमता प्रदर्शन गर्न सक्छ भनेर निर्क्योल गर्नु पर्छ । यहाँ पाँच वटा स्ट्रिममा अध्ययन हुन्छन् । आईबि पढ्ने कि, प्लस टु पढ्ने कि, सीटिईभीटी पढ्ने कि, ए लेभल पढ्ने कि सिबिएससी पढ्ने कि कुन पढ्ने भनेर छान्नुपर्छ । त्यसपछि कुन संस्थामा पढ्ने हो भनेर छान्ने हो ।

आइबी पढ्ने हो भने एउटा मात्रै संस्था छ, त्यहिँ जानु पर्छ । ए लेभल पढ्ने हो भने ४० वटा संस्थामध्ये एउटा संस्था रोज्न सकिन्छ । प्लस टु र सिटिईभीटीमा अलि बढि रोजाईका सुबिधा छन् ।

त्यसपछि शिक्षण संस्थाका प्रवद्र्धकहरुको पृष्ठभूमिमा हेर्नुपर्छ । त्यसपछि फ्याकल्टी र शैक्षिक वातावरण हेर्नुपर्छ । त्यसपछि संस्थाको पूर्वाधार हेर्नुपर्छ । अनि विद्यार्थीहरुको अतिरिक्त क्षमताहरुको फ्रस्फुटनमा त्यो शैक्षिक संस्थाले कति ध्यान दिन्छ भनेर हेरिनुपर्छ ।

एउटा विद्यार्थीमा थुप्रै खाले प्रतिभाहरु हुन्छन्, त्यसलाई उजागर गरिदिन सक्ने शैक्षिक संस्था रोज्नुपर्छ । यातायात, होस्टेलको सुबिधा लगायतका सवाल पनि महत्वपूर्ण हुन्छन् । विद्यार्थीहरुलाई अनुशासनको दायरामा रहेर उत्कृष्ठ नतिजा ल्याउन सफल र अध्ययन सम्पन्न गरिसकेपछि उनीहरुको सेटलमेन्ट कस्तो भएको छ भनेर पनि हेर्नुपर्छ । मुल कुरा भनेको विद्यार्थी र अविभावक बसेर के पढ्ने र कहाँ पढ्ने भन्ने निर्णय लिनु राम्रो हुन्छ ।

अभिवभावक र विद्यार्थीका बीचमा कतिको द्वन्द्व देखिन्छ ?

पुरानो पुस्ता र नयाँ पुस्ताका बीचमा जेनेरेशन ग्यापले कहाँ पढ्ने र के पढ्ने भन्नेबारे केहि द्वन्द्व रहन सक्छ । अविभावकहरुले विज्ञान वा अन्य आईटी तथा प्राविधिक विषय पढाउन चाहेका हुन्छन् । तर विद्यार्थीहरुले भने कमर्स, व्यवस्थापन वा अन्य कुनै बिषय पढ्न चाहेका हुन्छन् । त्यस्तो अवस्थामा अविभावक र विद्यार्थीबीबच द्वन्द्व भएको छ ।

अर्काे भनेको कलेज छनौटका सवालमा पनि अविभावकहरुले आफूलाई मन परेका संस्थामा पठाउन चाहान्छन् । तर विद्यार्थीले भने साथीहरुको रोजाईका आधारमा कलेज मन पराउँछन् । कसैलाई खेलमा ध्यान दिने कलेज मनपर्छ, कसैलाई रिजल्ट राम्रो आउने कलेज मनपर्छ । यस्ता कुराले १० प्रतिशतसम्म विवाद आउँछ ।

करिअरमा केन्द्रित भएर विद्यार्थीलाई परामर्श दिने चलन चाँही कति छ ?

मैले यसपाली नै ३० जना जतिलाई परामर्श दिईसेको छु । एक जना बहिनीलाई के पढ्ने भनेर सोँधे । उनले साईन्समा बायोलोजी पढ्ने भनिन् । बायोलोजी बढेर नर्स बन्ने रे । नर्स बनेपछि रमाईलो हुन्छ रे । यस्तो अवस्थाका विद्यार्थीहरु पनि हुन्छन्, हामीले राम्रो परामर्श दिएर उदेश्य अनुसारको बिषय छान्न प्रेरित गरिरहेका छौं । तर धेरै विद्यार्थीहरु अन्तरक्रियात्मक हुँदैनन्र । उनीहरुको चाहाना के हो भनेर खुलेर कुरा गर्दैनन् ।

विदेश जाने विद्यार्थीहरुलाई काउन्सलिङ लिने अभ्यास छ तर नेपालमा नै पढ्ने विद्यार्थी किन काउन्सिलिङ लिन तयार हुँदैनन ?

वास्तवमा विदेश जाने नेपाली विद्यार्थीहरुलाई परामर्श दिने चलन नै छैन । खाली फलानो कलेजमा पढ्न यो यो सुबिधा छ, यो यो बिषय छ, यति समय पढ्न पाइन्छ, यति समय काम गर्न पाइन्छ भनेर मात्रै परामर्श दिएको हुन्छ । त्यो त जानकारी मात्रै हो, जुन नेपालमा सरकारी निकायहरुमा सूचना अधिकारीले दिन्छन् । कहाँ गएर के पढ्ने र पढेपछिको अवसर के हुन्छ भनेर कसैले पनि भन्ने गरेका छैनन् । उनीहरु कलेजको काउन्सिलिङ गर्छन, करिअर काउन्सिलिङ गर्दैनन् । उनीहरुले काउन्सिलिङ विषय पढेका पनि हुँदैनन् । म्यानेजमेन्ट पढेकाले करिअर काउन्सिलिङ गर्न सक्दैन, जान्दैन, उसले दिने काउन्सिलिङको खास भ्यालु पनि हुँदैन ।

अहिले छोटो समयमा पढेर धेरै पैसा कमाउन सकिने बिषयहरु के के छन् ?

छोटो समयमै पढेर धेरै कमाउने हो भने त उद्यमी नै बन्नुपर्छ । त्यसमा पनि जोखिम धेरै हुन्छ । केमा लगानी गर्ने, कति लगानी गर्ने ? कहाँबाट ल्याएर लगानी गर्ने, कसरी नाफा कमाउने भन्नेबारे राम्रो अध्ययन गर्नुपर्छ । जागिरेहरु भोको पनि बस्नु पर्दैन र धेरै आम्दानी पनि हुन्न । उद्यमी व्यवसायी सोचेले पैसा कमाउन सकिन्छ तर जागिरेर मानसिकताले धेरै कमाउन सकिन्न ।

खेलाडी र हिरो हिरोइनीले पनि छोटो अवधिमा कमाउछन् । ३०/३५ कटेपछि यो क्षेत्रमा लागेका थोरै मान्छेले मात्र निरन्तर कमाउँछन् । डाक्टर, वकिल, सीएहरु ४० वर्ष कटेपछि मात्र राम्रो कमाउन सक्छन् । त्यसअघि यस पेशामा राम्रो कमाई हुँदैन ।

नेपालको शिक्षा चाँही जागिर केन्द्रित भन्ने आरोप लागिरहेको छ, यसलाई कसरी हेर्ने ?

नयाँ पुस्तामा उद्यमशिलता बढिरहेको छ । जोसँग पैसा छ, उसँग ज्ञान छैन, ज्ञान हुनेसँग पैसा छैन । समूहमा काम गर्ने संस्कृति पनि हामी कहाँ देखिएको छैन् । समूहमा काम गर्ने संस्कृति हुन्थ्यो भने पूँजी जुटाउने उपाय पनि आउँछ । हामीले ज्ञान भएका र पैसा भएकाहरुलाई जोड्न सक्नुपर्छ ।

मैले नै आफ्ना विद्यार्थीहरुलाई राम्रो परियोजना ल्यायौं भने ५० प्रतिशत लगानीको स्रोत जुटाई दिन्छ भन्ने गरेको छु । सुपारीको बोटबाट प्लेट बनाउने परियोजना हाम्रै विद्यार्थीले सुरु गरेका थिए, त्यो परियोजना सफल भएको छ । एक रोड ६३ लाख प्लेट बनाईसकेका छन् । सबै बिक्री भईसकेको छ ।

केहि विद्यार्थीले बैंकको जागिर छाडेर होटलहरुमा तरकारी बेच्ने काम सुरु गरेका छन् । मासिक ५/७ लाख नाफा भैरहेको बताईरहेका छन् । केहि विद्यार्थीहरुले वल्र्ड कपको टि सर्ट र झण्डा बनाएर बेचिरहेका छन् । युवाहरुलाई उद्यमशिल बनाउन हामीले उनीहरुको शिप र जागरको सदुपयोग गर्ने वातावरण बनाउनुपर्छ ।

शिक्षा र उद्यमशिल बजारको मागका बीचमा तालमेल नमिलेको हो कि ?

हाम्रो श्रम बजारमा प्रत्येक वर्ष ४ लाख ५० हजार युवा आउँछन् । तीमध्ये २ प्रतिशत सरकारी सेवामा जान्छन भने ८ प्रतिशत निजी क्षेत्रमा रोजगार हुन्छन् । ४५ हजारले जागिर पाए भने ४ लाख ५ हजारले कि उद्यमशिल बन्ने वा विदेश जाने विकल्प मात्रै हुन्छ । त्यसकारण राज्यमा उद्यमशिलता मैत्री वातावरण हुनुपर्छ ।

एसईई पछि अध्ययनका लागि विद्यार्थी काठमाडौं आउने क्रम कस्तो छ ?

राम्रा कलेजहरु भएको पोखरा, विराटनगर, चितवन, बुटवलबाट पढ्नका लागि काठमाडौं आउनेहरुको संख्या घटेको छ । अन्य ठाउँबाट भने आईरहेकै छन् । काठमाडौं र बाहिरका कलेजहरुमा शुल्कमा खासै फरक छैन । काठमाठौं बस्दा घर भाडा, खाना खाजाको हिसाब गर्दा मात्रै यहाँ अलि महंगो जस्तो देखिने हो ।

उपत्यका बाहिरबाट आउने सबै विद्यार्थीहरुलाई पठाउन काठमाडौंका कलेजहरुले सक्ने अवस्था छ कि छैन् ?

सबै विद्यार्थीहलाई पठाउन सक्ने अवस्थामा काठमाडौंमा कलेजहरुको संरचना तयार भएको छ । ठूला र राम्रा कलेजहरुमै पढ्ने चाहना भने पुरा नहुन सक्छ । मेरो कलेजमा ७ हजार आवेदक हुन्छन् । मैले पढाउने भनेको १६ सय विद्यार्थीलाई मात्रै हो ।

राम्रा कलेजहरुको क्षमता सीमित हुन्छ । मध्यम खालका कलेजहरुमा जति पनि बढ्न सक्छन् । कतिपय अवस्थामा कलेजहरु चलाउन नसकेको अवस्थामा छन् । चल्ते चलाते अवस्थमा छन् ।

कति जति कलेजहरु चल्ते चलातेको अवस्थामा होलान् ?

२५ प्रतिशत कलेजहरु राम्रोसँग चलिरहेका छन् । कतिपय मर्ज भएका छन्, कतिपय बेचिरहेका छन् । ७५ प्रतिशत कलेजहरु चाँही चल्ते चलाते चलिरहेका छन् । त्यसरी कलेजहरु सञ्चालन गर्नुहुन्न भन्ने हाम्रो मान्यता हो ।

कुन बिषय पढ्न कति पैसा तिर्नुपर्छ ?

विज्ञान बिषय पढ्न १ लाख ५० हजार देखि ४ लाखसम्मका पढाईने कलेज छन् । व्यवस्थापनमा १ लाख देखि ३ लाख, मानबीकीमा ८० हजार देखि २ लाखसम्म र शिक्षाशास्त्र संकायमा ६० हजार देखि १५० हजारसम्म शुल्क तिर्नुपर्ने कलेजहरु छन् ।

११ मा कम शुल्क लिने तर १२ मा धेरै पैसा लिने चलन हावी भएको हो ?

मेरो कलेजमा चाँही ११ मा भन्दा १२ मा कम शुल्क छ । मैले सबै साथीहरुलाई शुल्कमा पारदर्शी बन्न आग्रह गरिरहेको छु । त्यसो गर्ने संस्थाहरु विस्तारै धरासायी हुँदै जानेछन् ।

ग्रेडिङ सिस्टमको राम्रो र नराम्रो प्रभाव के हुन्छ ?

नतिजा खस्किरहेको छ । गत वर्ष भन्दा ७ प्रतिशत नतिजा घटाएको छ । ७ वटा बिषयहरुमा विद्यालयले नै प्राक्टिकलमा २५ नम्बर दिने व्यवस्था गरेकाले ठिकै देखिएको मात्रै हो । गणित बाहेकका बिषयहरुमा गुणस्तर खस्किएको छ ।

अब ११ र १२ कक्षमा यसले महामारी (डिजास्टर) नै ल्याउँछ । विश्विद्यालयस्तरको गुणस्तर पनि यसले ठूलो मात्रामा घटाउँछ नै ।

सि, डी ग्रेड ल्याउने विद्याथीहरुको भविष्य कस्तो हुन्छ ?

लोक सेवा आयोगले नै २ जीपीएस मागेको छ । मानिस पास त १.६ मै हुन्छ । पास भएकाहरु पनि बजारमा बिक्री भएनन् भने के अर्थ ? नागरिकलाई बिक्री योग्य बनाउनुपर्छ । डी र ई ल्याउनेहरु फेल नै हुन् । उनीहरुले कलेज पढ्न पाउँदैनन् ।

माथिल्लो तह पढ्न नपाउने भएपछि पास हुनु र फेल हुनुको के अर्थ ? ग्रेडिङ प्रणालीमा फेल हुँदैन भनेर किन हल्ला गरिएको ? पुनः परिक्षा दिनुपर्ने व्यवस्था किन गरेको डी र ई ल्याउने विद्यार्थीहरुलाई ? पुनः परीक्षा दिनुपर्नेहरु कसरी पास भए ?

हिसानले ग्रेडिङ प्रणालीको बिरोध गर्दै आएको छ । यो मन्त्रालयका केही स्वः घोषित विद्धानहरुले ल्याएको व्यवस्था हो जसले समस्याहरु थपिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.