सुरु भयो ब्याजदर बढाउन बैंकबीच प्रतिस्पर्धा, सिभिल बैंक झनै आक्रमक

  २०७५ जेठ २८ गते १९:१३     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरु निक्षेप बढाउन फेरी प्रतिस्पर्धामा उत्रिएका छन् । बैंकहरुले निक्षेप बढाउन मुद्धतिको ब्याजदरमा वृद्धि गर्न थालेका छन् । एनआईसी एसिया बैंकले मुद्धतिको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको भोलिपल्ट सोमबार सिभिल बैंकले १२.२२ प्रतिशत ब्याज दिने योजना ल्याएको छ ।

एनआईसी एसियाले आइतबार मुद्धति निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएपछि सिभिलले पनि सोमबार “चन्द्रसूर्य बचत खाता” योजना ल्याएर ब्याजदर १२.२२ प्रतिशत पुर्याएको हो । सिभिलले आफ्ना ग्राहकलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने सिभिलले जनाएको छ । यो योजनाअन्र्तगत न्यूनतम मौज्दात ३ लाख रुपैयाँ हुनुपर्ने छ । सिभिलले साधारण बचत खाताको ब्याजदर बढाएर १० प्रतिशत दिने जानकारी गराएको छ ।

बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा ५ लाख रुपैयाँसम्मको दूर्घटना मृत्युर अपाङ्गताको निःशुल्क बीमा सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा योजना ल्याउने सिभिलका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।

एनआईसी एसिया बैंकको आकर्षक मुद्धति योजना, १२ प्रतिशत ब्याज र ८० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंकले धनवर्षा मुद्दती निक्षेप योजनामा मासिक भुक्तानीको सुविधा सहितवार्षिक १२ प्रतिशत ब्याज दिने भएको हो । ११ प्रतिशत ब्याज दिदै आएको एनआईसी एसियाले १ प्रतिशत बढाएको हो । एक बर्षको अवधिका लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधासमेत उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।

 

यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वा्धिक उच्चब्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना लोकप्रिय भएपछि पुनः कार्यन्वयनमा ल्याएको बैंकले जनाएको छ ।

निक्षेप बढाउन र भएको निक्षेपलाई जोगाउन ब्याजदर बढाएको एक बैंकरले बताए । आर्थिक वर्ष सकिन लाग्यो निक्षेप बढी देखाउन र भएको वचतलाई जोगाउन यस्तो योजना ल्याएको ती बैकरको भनाई छ । बैंकबीच भएको भद्र सहमति सोमबारदेखि तोडिएको छ । यसअघि बैंकबीच साधारण वचतमा ८ र मुद्धति निक्षेपमा अधिकतम ११ प्रतिशतसम्म ब्याज दिने सहमति गरेका थिए ।

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा निक्षेप बढाउन बैंकबीच ब्याजदरको प्रतिस्पर्धा चलेको बताउछन् । राष्ट्र बैंकले पनि ब्याजदर नियन्त्रण गर्ने कुनै नीति नलिएकाले बजारको मागअनुसार ब्याजदरमा घटबढ हुने उनको भनाई छ । “जसले आक्रमक रुपमा बजार विस्तार गर्न चाहेको छ उसले ब्याजदर बढ्यो, यसमा दुःख मान्नुपर्ने कारण छैन” उनले भने ।

बैंकको आधार ब्याजदर ९ बाट बढेर १०.९४ प्रतिशत पुगेको छ । यस्तै निक्षेप लागत पनि बढेर औसत ६.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.