पटकपटक लिलामी गर्दा पनि किन बिक्री भएन सिभिल बैंकको संस्थापक हकप्रद सेयर ? फेरी २९ लाख ९२ हजार कित्ता बिक्रीमा

  २०७५ वैशाख २६ गते ८:०७     विकासन्युज

काठमाडौं । पटकपटक खुला गर्दा पनि सिभिल बैंकका संस्थापक हकप्रद सेयर बिक्री नभएपछि पुनः लिलामी गरिएको छ । बैंकको आवेदन नपरेका २९ लाख ९२ हजार २१० कित्ता संस्थापक हकप्रद सेयर पुनः लिलामी गर्न लागिएको हो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जेठ २ गतेदेखि बिक्री खुलाइ जेठ ९ गते बैंकिङ समयसम्म हकप्रद खरिदका लागि अन्तिम दिन तोकेको छ ।

अंकित मूल्य १०० रुपैयाँ भन्दा बढी दर प्रस्ताव गर्नुपर्ने छ । न्युनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्ने लक्ष्मी क्यापिटलले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउन मंसिर २२ देखि माघ १२ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएको मध्ये संस्थापक समूहकको ३१ लाख २१ हजार ६०० कित्तालाई नपरेपछि पुनः लिलामी गर्न लागेको हो ।

गत चैत १४ गते बिक्री खुलाएको थियो । त्यसमा पनि आवेदन नपरेपछि पुनः लिलामी गर्न लागेको बिक्री प्रवन्धक लक्ष्मीले जनाएको छ ।

पहिलो पटक बिक्री खुला गर्दा पर्याप्त आवेदन नपरेपछि बैंकको संस्थापक र सर्वसाधारण गरी ४२ लाख ३८ हजार ९५८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । संस्थापक समूहतर्फ ३२ लाख ४४ हजार ६ र सर्वसाधारणतर्फ ९ लाख ९४ हजार ३५८ कित्ता हकप्रद सेयर बिक्री हुन सकेन ।

बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो । मंगलबार बैंकको साधारण सेयर प्रतिकित्ता १६८ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.