राष्ट्र बैंकको निर्देशन विपरित नविल बैंककाे बम्पर उपहार, डेपुटी गभर्नरले भने–‘हामी उचित निर्णय लिन्छाैं’

  २०७४ चैत २० गते १२:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन विपरित नविल बैंकले नयाँ बम्बर उपहार योजना ल्याएको छ । नविलले आफ्ना ग्राहकलाई १५०० रुपैयाँको किनमेल गर्दा १०० रुपैयाँ फिर्ता दिने र सबैंभन्दा बढी कारोबार गर्नेलाई २७ लाख रुपैयाँकाे कार उपहार पनि दिने गरि बम्पर उपहार योजना ल्याएको हाे ।

चैत २० गतेदेखि लागू हुने गरी बैंकले ल्याएको यो योजना गलत भएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । ‘मैले आजै पत्रिकामा नविल बैंकको बम्बर उपहार योजनासहितको विज्ञापन पढेँ, मेरो बुझाइमा त्यो गलत छ, यस विषयमा राष्ट्र बैंकमा छलफल हुन्छ’ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले विकासन्युजसँग भने ।

राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले पनि नविल बैंकको उपहार योजना राष्ट्र बैंकको एकिकृत निर्देशनको बुँदा १३ को भाव विपरित भएको बताए । ‘नविल बैंकले राष्ट्र बैंकको निर्देशनको शब्द शब्द केलाउँदै निर्देशनको भावना विपरित काम गरेको छ । यस विषयमा राष्ट्र बैंकले उचित निर्णय लिन्छ’ उनले भने ।

नेपाल बैंकर्स संघको अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले पनि नविल बैंकको उपहार योजना गलत भएको बताए । ‘मलाई लाग्छ, कुनै पनि बैंक तथा वित्तीय संस्थाले उपहार योजना सञ्चालन गर्न पाईनैन । राष्ट्र बैंकको नियम त्यहि हो, सबैलाई त्यो लागू हुनुपर्ने हो’ उनले विकासन्युजसँग भने ।

नबिल बैंक डेविट/क्रेडिट/प्रिपेड जस्ता भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर ‘कार्डबाट कार’ योजना ल्याएको छ । यस योजनामा दुई वटा योजना छन् । पहिलोमा ग्राहकहरुले नेपाल भित्रका पीओएस तथा ई–कमर्श साइटबाट एउटै कार्डबाट प्रत्येक ३ पटक सफल कारोबार गरे पश्चात १०० नगदै फिर्ता पाउनेछन । नगद फिर्ता योजनाको लागि योग्य हुन प्रत्येक कारोवार रकम कम्तिमा ५०० वा सो भन्दा बढीको हुुनु पर्ने बैंकले जनाएको छ ।

बम्पर उपहार योजना अन्तरगर्त यस योजना अवधिभर सबैभन्दा धेरै पटक कारोबार गर्ने एक जना ग्राहकलाई बम्पर उपहार स्वरुप हुण्डाई ग्राण्ड आई १० कार प्रदान गरिने बैंकले जनाएको छ । यस कारको बजार मूल्य २६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो योजना २० गतेदेखि प्रारम्भ भई ३ महिनासम्म अर्थात आगामी असार १९ गतेसम्म रहने नविल बैंकले जनाएको छ ।

यस विषयमा नविल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसँग कुरा गर्न प्रयास गर्दा कुरा गर्न मानेन् । कर्पोरेट कम्यूनिकेशन युनिट आस्था शाहले भने राष्ट्र बैंकबाट स्वीकृत लिएर यो उपहार योजना ल्याएको बताइन ।

एक दशकअघि बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्न सुनको सिक्का, हिराको हार, कार, घर उपाहार दिन थालेका थिए । यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा गराएको, एक दुई जना ग्राहकलाई ठूलो लाभ र लाखौ ग्राहकलाई नोक्सान हुने काम गरेको भन्दै राष्ट्र बैंकले सबैं प्रकारका उपहार योजन बन्द गराउने निर्णय गरेको थियो । ‘त्यतिबेला निक्षेपकर्तालाई प्रलोभनमा पार्ने धेरै होडबाजी थियो । कुमारी बैंकले घर उपहार दिने योजना ल्यायो’ राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले भने–‘लाखौ निक्षेपकर्तालाई २ प्रतिशत मात्र व्याज दिने, एक जनालाई ७० लाख रुपैयाँको घर उपहार दिने योजनाले लाखौ निक्षेपकर्तालाई मर्का परेको देखियो र हामीले सबै प्रकारका उपहार योजनालाई बन्द गराएका थियौ ।

राष्ट्र बैंकले बेलैमा सहि निर्णय नगर्ने हो भने एक दशक पहिले जस्तै फेरी नेपाली बैंकिङ क्षेत्रमा बम्पर उपहार योजनाको बहार आउने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.