ओलम्पिया र आइडियल अल्फा बिटा फुटसलको क्वार्टर फाइनलमा, पहिलो विजेतालाई १ लाख रुपैयाँ नगद

  २०७४ मंसिर ७ गते १८:११     विकासन्युज

काठमाडौं । ओलम्पिया कलेज र आइडियल कलेजले प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । शंखमुलस्थित शंखमुल फुटसलमा बुधबारबाट शुरु भएको फुटसल प्रतियोगितामा ओलम्पिया र आइडियलले समूह ‘बी’ मा दोहोरो जित निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

ओलम्पियाले ओलम्पियाले पहिलो खेलमा लिटिल एन्जल्र्सलाई ३-१ ले पराजित गर्दा दोस्रो खेलमा नामी कलेजलाई ४-० ले पराजित गर्यो । यस्तै पहिलो खेलमा नामी कलेजलाई ४-० ले पराजित गरेको आइडियलले दोस्रो खेलमा लिटिल एन्जल्र्सलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो । यि दुई टिमले बिहिबार समूह विजेताका लागि खेल्नेछ । दुवै कलेजको समान दुई खेलबाट ६ अंक छ । पराजित भएको लिटिल एन्जल्र्स र नामी कलेज प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै, प्रतियोगिता अन्तर्गत बुधबारै भएको अर्काे खेलमा समूह ‘ए’ को साइपाल एकेडेमी र समूह ‘सी’ को ह्वाइटहाउस कलेजले दोहोरो जित निकालेको छ । साइपालले पहिलो खेलमा लिभरपुलमाथि ४-२ को जित निकाल्दा दोस्रो खेलमा कान्जिरोवालाई ४-० ले पराजित गर्यो ।

ह्वाइटहाउसले ह्वाइटफिल्ड र इनसाइड भिजनलाई समान ४-१ को नतिजामा पराजित गर्यो । अन्य खेलमा लिभरपुलले युनिग्लोबलाई, कान्जिरोवाले युनिग्लोबलाई, इनसाइड भिजनले ब्रिटिस कलेजलाई पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत बिहिबार पनि समूह चरणको खेलहरु हुने प्रतियोगिता संयोजक तथा पूर्वराष्ट्रिय खेलाडी हरि खड्काले जानकारी गराए । प्रतियोगितामा राजधानीका विभिन्न १६ कलेजको सहभागिता रहेको थियो । १६ कलेजलाई ४ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको क्वार्टरफाइनलबाट खेलको ‘म्यान अफ दी म्याच’ले १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.