सर्वियाका राष्ट्रपतिद्वारा वाइवाइ प्लान्टको उद्घाटन, १२२ कम्पनीमा १० हजार जनालाई रोजगारीको अवसर

  २०७४ असोज १९ गते २०:०६     विकासन्युज

काठमाडौं । सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसले आफ्नो देशको रुमामा स्थापित वाइवाइ चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् । नेपाली ब्राण्ड वाइवाइलाई युरोपेली बजारमा उच्च महत्व दिदै नवनिर्मित प्लान्ट समुद्घाटनका लागि राष्ट्रपति भुचिस आफै सरिक भएको चौधरी ग्रपुले जनाएको छ ।

उक्त अवसरमा राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाइले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । वाइवाइले सर्वियाको स्थानीय बजारको रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।

समुद्घाटन समारोहमा सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरीले युरोपेली बजारमा वाइवाइ प्रवेशका लागि सर्विया प्रस्थान विन्दू बनेको बताउदै वाइवाइको विश्वब्यापीकरण अभियानमा यो कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गरेका छन् । अध्यक्ष चौधरीले सर्वियामा उत्पादीत वाइवाइ युरोपभरको बजारमा वितरण हुने जानकारी दिएका छन् ।

कच्चापदार्थ र दक्ष जनशक्तिको उपलव्धता एवं उत्पादनको लागत मूल्य लगायतको विश्लेषणका आधारमा उनले सर्विया आफ्नो ग्रुपका लागि युरोप प्रवेशको रणनीतिक केन्द्र बनेको पनि बताएका छन् । उक्त प्लान्टमा वाइवाइ उत्पादनका लागि हाल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध पछिल्लो पुस्ताको मेशिनरी प्रयोग गरिएको छ । यस प्लान्टको उच्च व्यवस्थापनमा नेपाली व्यवस्थापकहरू रहेका छन् भने चार सयभन्दा बढी सर्वियाका स्थानीय नागरिकले रोजगारी प्राप्त गर्नेछन् ।

सिजीकर्प ग्लोबलका प्रवन्ध निर्देशक निर्वाण चौधरीले रुमाबाट एक हजार किलोमिटरको दुरीभित्रै युरोपका थुप्रै ठूला बजारहरु रहेकाले यहाँ उत्पादीत वाइवाइलाई युरोपको बजारमा प्रवेश गर्ने प्रवेशद्वारका रुपमा लिएको बताए । एसियामा लोकप्रिय ब्राण्डका रुपमा स्थापित वाइवाइ मध्यपूर्व र अमेरिकामा समेत लोकप्रिय खानाका रुपमा रुचाइँदै आएको छ ।

सर्वियाको सरकारी निकाय तथा स्थानीय प्रशासनको सहयोगले काम सुरु भएको १६ महिनाभित्रै प्लान्ट स्थापना गर्न सम्भव भएको भन्दै उनले सर्विया सरकार, सम्वन्धित कर्मचारीको प्रशंशा गरेका छन् । गत सेप्टेम्बरदेखि वाइवाइले उक्त प्लान्टबाट व्यवसायिक उत्पादन शुरू गरेको चौधरी ग्रुपले जनाएको छ ।

सीजीकर्प ग्लोबलले विश्वका ३० देशमा पूर्वाधार निर्माण, आतिथ्य सत्कार, वित्तीय क्षेत्र, खाद्य तथा पेय, इलेक्ट्रोनिक,जलविद्युत, शिक्षालगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । यस ग्रुपले विश्वब्यापी रुपमा १२२ कम्पनी र ७६ ओटा ब्राण्ड व्यवस्थापन गरिरहेको र प्रत्यक्ष रुपमा दश हजार भन्दा बढी जनशक्तिले राेजगारीकाे अवसर पाएकाे चौधरी ग्रुपका जनरल म्यानेजर मधूसुधन पौडेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.