काठमाडौं । भारतीय ग्याँस ढुवानी कम्पनी इण्डो नेपाल बल्क ट्रान्सपोर्ट एशोसिएसनले नेपालमा एलपी ग्यास ढुवानी नरोकिने स्पष्ट पारेको छ ।
आगामी नोभेम्बरदेखि नेपालमा ग्याँस ढुवानी सेवा बन्द गर्ने भन्ने नेपाल एलपी ग्यास उद्योग संघको भनाईको इण्डो नेपाल बल्क ट्रान्सपोर्ट एशोसिएसनले औपचारिक रुपमा खण्डन गरेको छ ।
कम्पनीले गत असार १५ मा आपूर्ति मन्त्रालयलाई पत्राचार गरी ग्याँस बुलेट ढुवानीमा कुनै अवरोध नपुर्याउने र निरन्तर सेवा सुरु गर्ने जनाएको छ ।
नेपाल एलपी ग्याँस उद्योगीले नोभेम्बरपछि भारतीय ग्याँस ढुवानी कम्पनीसँग ग्याँस ढुवानी नगर्ने सहमती भइसकेको बताँउदै ग्याँस आपूर्तिमा अवरोध पुग्ने निश्चीत रहेको बताएका थिए ।
भारतीय ग्याँस ढुवानी कम्पनीले पठाएको सो पत्रमा भारतीय ढुवानीकर्ताले ग्याँस ढुवानी बन्द गर्ने भन्ने समाचार यथार्थपरक नभएको बताइएको छ ।
’पत्रपत्रिकामा आए अनुसार भारतीय ढुवानीकर्ताले आगामी नोभेम्बरदेखि ग्याँस बुलेट ढुवानी नगर्ने सहमती भएको भन्ने कुरा झुटो र बदनियतपूण छ,’ पत्रमा उल्लेख छ, ’नेपाल आयल निगम लिमिटेड तथा नेपाली ग्याँस उद्योगीले नचाँहेसम्म भारतीय ढुवानीकर्ताबाट कुनै अवरोध नपुग्ने विश्वास व्यक्त गर्न चाहन्छौं ।’
‘भारतीय बुलेटमा ग्याँस ल्याउँदैनौं’
नेपाली ग्याँस उद्योगीले भने भारतीय ग्याँस ढुवानी कम्पनीसँग सम्झौता भएको र नोभेम्बरदेखि ग्याँस आपूर्तिमा अवरोध पुग्ने दाबी गरिरहेका छन् । भारतीय ग्याँस कम्पनीले स्वार्थमा निहित रहेको सो पत्र पठाएको संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । उनले भने,’ नेपालमा भारतीय ग्याँस ढुवानीकर्ताको ’मोनोपोली’ छ । उनिहरुले स्वाभाविक रुपमा आफ्नो एकाधिकार कायम राख्न चाहन्छन् ।’
नेपाली उद्योगी र भारतका ग्याँस ढुवानीकर्ताबीच भएको सहमती कार्यान्वयन गराएर छाड्ने पक्षमा ग्यास उद्योगी रहेको घिमिरेले प्रस्ट पारे । ’नेपाली ग्याँस उद्योग र भारतीय ग्याँस ढुवानीकर्ताबीच सहमती भएको हो,’उनले भने, ’भारतीय ग्याँस ढुवानी कम्पनीले सरकारलाई पत्राचार गर्ने विषय होइन ।
हामीले सरकारले दिएको अनुमतिका आधारमा नेपाली नम्बर प्लेटका ग्याँस सञ्चालन गर्न खोजेका हौं ।’ गत वर्ष असार मसान्तमा नेपाल आयल निगमले ७७५ थान नेपाली ग्याँस बुलेट राख्न स्वीकृती दिएको थियो । भारतले एक्सप्लोसिभ प्रमाणपत्र नदिएपछि ४ सय वटा बुलेट भारतमा नै अड्किएको र ५ अर्ब रुपैयाँ लगानी अलपत्र परेको उद्योगीको दाबी छ ।
आगामी नोभेम्बरबाट ग्याँस आपूर्तिमा अवरोध पुग्ने निश्चित रहेको उनले बताए । उनका अनुसार उद्योगीले नेपाली ग्याँस बुलेटमा अर्बौं रुपैयाँ लगानी गरिसकेका छन् । उनले भने, ’ग्याँस आपूर्ति सहज गराउने वा नगराउने सरकारको टाउको दुखाईंको कुरा हो । हामीले हाम्रो लगानीमा बनेको बुलेटमा ग्याँस ढुवानी गर्न पाउनुपर्छ ।’