देवचुली नगरपालिकामा सोलार बत्ती जडान, २ करोड ५० लाखको लगानी

  २०७४ भदौ २० गते १२:२७     विकासन्युज

नवलपरासी । देवचुली नगरपालिकाका अधिकांश वडामा सोलार बत्ती जडान गरिएको छ ।

नगरको बजार क्षेत्रसँगै ग्रामीण भेगमा समेत सोलार बत्ती जडान गरिएको छ । देवचुली नगरपालिकाको प्रगतिनगर, दलदले, दुम्कौलीका सबै स्थान तथा देवचुलीका अधिकांश ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ ।

नगरको मुन्डे, गैडी, रामवास, सीतावास, विशालटार, मुसहर टोललगायतका ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ । यी ग्रामीण बस्तीमा बाटो पक्की बन्न सकेको छैन । बत्ती जडान भएपछि रातको समयमा गाउँ नै झिलीमिली भएको देवचुली–१२ गैडीका मुक्तीराम पराजुलीले बताए ।

देवचुली–११ धारापानी सातघरेचोककी कुमारी बराल सोलार बत्ती राखेपछि रातको समयमा हिँडडुल गर्न सहज भएको बताइन् ।

देवचुली नगरपालिकामा १७ वटा वडा छन् । उज्यालो नगर बनाउने योजनाअनुरुप नगरका सबै वडामा सोलार बत्ती जडान गरिएको देवचुली नगरपालिकाका वातावरण अधिकृत धु्रव आचार्यले बताए । गएको तीनवटा आर्थिक वर्षमा नगरपालिकाभित्र २६१ वटा ठाउँमा सोलार बत्ती जडान गरिएको उनले जानकारी दिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र देवचुली नगरपालिका र उपभोक्ता समेतको २ करोड ५० लाख लगानीमा सोलार बत्ती जडान गरिएको हो । रासस