सिमेन्टमा १०५ अर्ब वैदेशिक लगानी थपिँदै, पहिलो पटक अफ्रिकी मुलुकबाट ५५ अर्ब आउने

  २०७४ भदौ २० गते ११:१२     बाबुराम खड्का

काठमाडौं । चीन र अफ्रिकी मुलुक नाइजेरियाबाट गरी ३ बहुराष्ट्रिय कम्पनीले नेपालमा सिमेन्ट उत्पादन गर्न १ खर्ब ५ अर्ब रुपैयाँ बढी (१ अर्ब ५ करोड डलर) लगानी गर्ने भएका छन् । अफ्रिकाको डाँगोटे सिमेन्ट कम्पनी, चीनको होङसी शिभम् सिमेन्ट र चीनकै हुवाजिनले सिमेन्ट उत्पादन गर्न नेपालमा यो रकम लगानी गर्न लागेका हुन् । डाँगोटेले ५५ अर्ब रुपैयाँ ( ५५ करोड डलर), होङसीले ३६ अर्ब ८५ करोड रुपैयाँ (३५ करोड ,९१ लाख अमेरिकी डलर) र हुवाजिनले १४ अर्ब रुपैयाँ (१४ करोड डलर) लगानी ल्याउने छन् ।

३ वटै उद्योगले सिमेन्टमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउन अनुमति पाएका छन् । यी उद्योगले मात्र १५५ मेगावाट बिजुली खपत गर्देछन् । यी उद्योगले नेपालमा दैनिक १५ हजार टन र वार्षिक ७६ लाख ६५ हजार टन सिमेन्ट उत्पादन गर्ने छन् । होङसीले नवलपरासीमा कारखाना स्थापनाको काम सुरु गरेको छ । लगानी बोर्डसंग आइतबार आयोजना लगानी सम्झौता (पीआईए) गरेको छ । डाङोटे र हुवाजिन उद्योग पीआईएको तयारीमा रहेको बोर्डका प्रवत्ता उत्तमभक्त वाग्लेले बताए । खानी पाएपछि पीआईए हुने उनले जानकारी दिए ।

डाङगोटे र हुवाजिनले खानी लिनका लागि प्रतिस्पर्धामा भाग लिएका छन् । खानी तथा भुगर्भ विभागले खानी क्षेत्र उपलब्ध गराउन ढिलाइ गरेपछि उद्योगले काम अघि बढाउन ढिलाइ भएको छ । खानी प्राप्त हुने बित्तीकै अन्य काम सुरु हुने उनको भनाई छ । होङसीको ७० र नेपालीको ३० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । सिमेन्ट उद्योग दर्ता र अन्य स्वीकृतिको काम सकिएको छ । चीनको होङसी र नेपालको शिमभ् सिमेन्टको संयुक्त लगानीमा नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाका लागि आवश्यक पुर्वाधार निर्माणको काम भइरहेको छ । उद्योगबाट सन् २०१८ को सुरुदेखि सिमेन्ट उत्पादन हुनेछ ।

उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चावस्तुका लागि पाल्पामा खानीका लागि स्वीकृति पाएको छ । उद्योग आफैले कच्चा वस्तु क्लिङकर उत्पादन गर्ने भएको छ । होङसीले दैनिक ६ हजार टन र पछि उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पु¥याउने लक्ष्य राखेको छ । वार्षिक ४३ लाख ८० हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योग सञ्चालनका लागि मात्र ८० मेगावाट बिजुली आवश्यक पर्नेछ । उद्योगबाट प्रत्यक्ष रुपमा १ हजार र अप्रत्यक्ष रुपमा १० हजारले रोजगारी पाउने अनुमान गरिएको छ ।

यस्तै डाङोटेले दैनिक ६ हजार र वार्षिक २१ लाख ९० हजार टन सिमेन्ट उत्पादन गर्ने प्रस्ताव पेश गरेको छ । डाङगोटेलाई सिमेन्ट उत्पादन गर्न ५० मेगावाट बिजुली आवश्यक पर्ने छ । यो पुर्ण विदेशी लगानीमा निर्माण हुन लागेको हो । हुवाजिनले दैनिक ३ हजार र वार्षिक १० लाख ९५ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको लगानी बोर्डले जनाएको छ । विदेशि लगानीमा स्थापना भएका सबै उद्योगले आफै खानीबाट कच्चा वस्तु क्लिकर उत्पादन गर्ने भएका छन् ।

पछिल्ला वर्षमा निर्माण व्यवसायले गति लिएपछि स्वदेशी तथा विदेशीले सिमेन्टमा लगानी बढाएका छन् । भारतको रिलायन्स इन्डष्ट्रिजले नेपालमा सिमेन्ट उत्पादनमा लगानी गर्ने प्रस्ताव गरेपनि खासै अघि बढ्न नसकेको बोर्डले जनाएको छ । डाङोटेले मकवानपुरको भीमफेदीमा, हुवाजिनले नारायणी र रिलायन्सले नेपालको मध्य क्षेत्रमा कारखाना राख्ने तयारी गरेका छन् । नेपालमा हालसम्म ७३ सिमेन्ट उद्योग रहेका छन् । मुलुक सिमेन्टमा आत्मनिर्भरतर्फ उन्मुख हुदै गएको छ । कुल मागको ८५ प्रतिशत हाल सञ्चालनमा रहेका स्वदेशी उद्योगले पुरा गरेका छन् । बाँकी १५ प्रतिशत बाँकी रहेको छ । विदेशी लगानीका ठुला उद्योगले उत्पादन थालेपछि सिमेन्ट निकासी हुने बोर्डको प्रक्षेपण छ । पछिल्लो समया नेपालमा क्लिङकर उत्पादन गर्ने उद्योग स्थापना भएपछि स्वदेशमै सिमेन्टका लागि कच्च पदार्थ उपलब्ध हुने अवस्था आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.