काठमाडौं । लामो समयदेखि बन्द नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्स लिमिटेड आउदो मंसिरदेखि सञ्चालनमा आउने भएको छ । उद्योग सञ्चालनका लागि व्यवस्थापनले पुराना उपकरण मर्मतको काम सुरु गरेको छ ।
हाल ७५ प्रतिशत मर्मतको काम सम्पन्न भएको मिल्सका अध्यक्ष निलहरी काफलेले बताए । भदौभरी उद्योगको पुराना उपकरण मर्मत सक्ने लक्ष्य लिएको उनले जानकारी दिए । उपकरण मर्मतमा ४० लाख रुपैयाँ खर्च भएको छ ।
उपकरण मर्मत सकिएपछि जुट खरिद गरेर उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । उनकाअनुसार यो महिनामा उद्योगले १ हजार टन जुट खरिद गर्ने भएको छ ।
उद्योगमा नियमित रुपमा बिजुली आपूर्तिका लागि काम सुरु गरेको छ । उद्योगमा नियमित रुपमा बिजुली आपूर्ति गर्न ३३ केभी क्षमताको ट्रान्सफरम खरिद प्रक्रिया अघि बढाएको छ । ट्रान्सफरमर जडान गर्न २ महिना बढी समय लाग्ने भएकाले उद्योग मंसिरदेखि सञ्चालनमा आउने उनले स्पष्टपारे । विद्युत आपूर्तिका लागि डेढ करोड रुपैयाँ खर्च हुने भएको छ ।
उद्योग सञ्चालनमा ल्याउनका लागि तत्काल ५ करोड रुपैयाँ खर्च लाग्ने उनको भनाई छ । आफनै स्रोत व्यवस्थापन गरेर हाल उद्योग सञ्चालको काम भइरहेको काफलेले जानकारी दिए । हाल जुटको बोरा र धागो उत्पादन गर्ने र अर्को वर्ष नयाँ उपकरण खरिद गरेर जुटका झोलालगायत अन्य वस्तु उत्पादन सुरु गर्ने उद्योगको लक्ष्य छ ।
वि.स. १९९३ मा स्थापना भएको उद्योग ०६७ सालदेखि पुर्ण बन्द छ । यसअघि सरकारले उपकरण खरिदमा बजेट उपलब्ध नगराएपछि पुराना उपकरण मर्मत गरेर उद्योग सञ्चालनमा लागिएको हो । यसअघि भारतीय उद्योगपति विनसम इन्टरनेसनललाई २५ वर्षका लागि भाडामा सञ्चालन गर्न दिएकोमा हाल उसंगको सम्झौता रद्ध भइरकेको छ ।
उद्योग परिसरमा सशस्त्र प्रहरी वलको वेसक्याम्प छ । प्रहरी बललाई उद्योगको अर्को जग्गामा स्थानान्तर गर्ने र सो वापत सरकारले जुट मिल्सलाई २९ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्ने भनेपनि सरकारले बजेट नदिएपछि यो काम रोकिएको छ । हाल उद्योगको नाममा ६९ विगाहा जग्गा छ । यो जग्गा प्रयोगविहीन छ ।
उद्योग ३ अर्ब ९० करोड रुपैयाँ घाटामा देखाइएको छ । यसअघि नै कर्मचारीलाई दाइत्व भुक्तानी गरेर विदाइ गरिसकेको छ । उद्योगले जुटको धागो र त्यसबाट होसियन बोरा, सुतली आदी सामानहरु तयार गरी औद्योगिक साथै देशको आर्थिक विकासमा टेवा पु¥याउन सरकारले ८० वर्षअघि तत्कालिन राणा प्रधानमन्त्री जुद्धशम्शेरले विराटनगर जुटको स्थापना गरेका हुन् ।
१ करोड ७५ लाख ऋणको ब्याज मात्र १ अर्ब ५५ करोड
उद्योग सञ्चालनका लागि नेपाल बैंकबाट लिएको १ करोड ७५ लाख रुपैयाँको ब्याज मात्र १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । समयमा कर्जा चुक्ता नगर्दा ब्याज मात्र डेढ अर्ब रुपैयाँ नाघेको हो । उद्योगमा ५४ प्रतिशत सर्वसधारणको र ४६ प्रतिशत सरकारको स्वामित्व छ ।