मुग्लिन-नारायणगढ सडकको बिजोग, छिनछिनमै पहिरो खसेरै हैरान

  २०७४ असार १७ गते ७:०५     विकासन्युज

भरतपुर . नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा शुक्रबार बिहानै पहिरो गएको छ । बिहान साढे आठ बजे गएको पहिरो हटाएर सकिनै लाग्दा उक्त स्थानमा दिउँसो १ बजे पुनः पहिरो खस्यो ।

दिनभरि पहिरो हटाउने काम गरिए पनि पहिरो हटाउन सकिएन । पाँच घन्टा लगाएर पहिरो हटाउने काम सकिनै लाग्दा फेरि त्यसैमा पहिरो थपिएको हो । ‘पहिलाको पहिरो हटाएर सकिनै लागेको थियो, त्यसैमा फेरि पहिरो गयो’, चितवनका एसपी दीपक थापाले भन्नुभयो, ‘पानी परिरहेकाले थपिरहन्छ, छिनछिनमा पहिरो जाने हुनाले यात्रा जोखिमयुक्त बनेको छ ।’ रातिसम्म पनि पहिरो हटाउने काम गरिएको थियो ।
राति काम गर्न मजदुर असुरक्षित महसुस गर्छन् ।

पहिरोले ५० मिटर सडक ढाकेको छ । करिब आठ हजार घनमिटर पहिरो खसेको छ । एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम गरिएको थियो । १२ घन्टासम्म पनि पहिरो हटाउन सकिएको थिएन । पहिरोको कारण स्थानीय एकबहादुर मगरको ज्यान गएको छ । ६१ वर्षीय मगर पहिरो पन्छाएको हेर्न जाँदा पहिरोले पुरिएका हुन् । पहिरो हटाएर खोज्ने क्रममा उनको शव भीरमा भेटिएको थियो ।

निकै ठूलो पहिरो खसेपछि यातायात सञ्चालन अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । इच्छाकामना ६ मा बिहानै पहिरो गएको हो । ठूलो पहिरो गएपछि जाममा परेका सवारीसाधन प्रहरीले फर्काएको थियो । पश्चिम जाने सवारी साधनलाई पोखराको बाटो हुँदै पठाइएको थियो । राजधानी जाने सवारीसाधन हेटौडको बाटो हुँदै पठाइएको थियो ।

पहिरो हटाउनका लागि चारवटा मेसिन प्रयोग गरिएको छ । पहाडबाट ढुंगा खस्दा पहिरो हटाउन निकै जोखिम छ । पहिरोग्रस्त क्षेत्र मानिने यहाँ ठूलो पहिरो गएका कारण हटाउन निकै समय लागेको हो । मुग्लिनदेखि ९ किलोसम्मको क्षेत्रमा अधिकांश स्थानमा पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ । कालिखोला, तोपेखोला, चार किलो, नौ किलो, साढे दुई किलोमा पहिरो खसिरहने गर्छ । त्यसै घुमाउनेमा पहिरोको जोखिम छ । अन्नपूर्ण पाेस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.