अदालतको निर्णयसँगै विजय शाहले दिए राजीनामा, एक दर्जन बीमा कम्पनीका सीईओले पुन: नियुक्ती नपाउने

  २०७४ जेठ ५ गते ९:३१     विकासन्युज

सुनिल बल्लभ पन्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले राजीनामा दिएका छन् । उच्च अदालतमा विचाराधिन उनको मुद्दा विहीबार खारेज भएपछि उनले तत्काल पदबाट राजीनमा दिएका हुन् ।

कम्पनीको सञ्चालक समितिले विहीबार नै उनको राजीनामा स्वीकृत गर्दै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुनिल बल्लभ पन्तलाई दिएको छ । अर्को व्यवस्था नभएसम्मका लागि उनलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिईएको कम्पनीका सञ्चलक भरत बस्नेतले विकासन्युजलाई बताए ।

यसअघि उपमहाप्रबन्धक पन्त पदमा कार्यरत पन्त सोही कम्पनीमा विगत २६ वर्षदेखि कार्यरत छन् ।

यसअघि कम्पनीले २०७३ असोज १ देखि लागु हुने गरी ४ वर्षका लागि कम्पनीले प्रमुख कार्यकारी अधिकृत पदमा विजयवहदुर शाहलाई नियुक्त गरेको थियो । कम्पनीको सो निर्णय संस्थागत सुशासन निर्देशिका विपरित भएको भन्दै बीमा समितिले कार्यान्वयन नर्गन निर्देशन दिएको थियो ।

तर संस्थागत सुशासन निर्देशिका आएपछि आफूले एक कार्यकाल मात्र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेको भन्दै शाहले समितिको निर्णय विरुद्ध उच्च अदालतमा रिट दर्ता गरेका थिए ।

तत्काल अदालतले अन्तरिम आदेश दिदै बीमा समितिको निर्णय कार्यान्वन नगर्न आदेश दिएको थियो । अन्तरिम आदेशपछि शाहले कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आएका थिए ।

तर अदालतले विहीबार शाहको रिट खारेज गरिदिएपछि उनी राजीनामा गर्न वाध्य भएका हुन् ।

अदालतको नयाँ निर्णयसँगै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको दुई कार्यकालको गणना संस्थागत सुशासन निर्देशिका जारी भएको भन्दा अघिदेखि नै हुने भएको छ । संस्थागत सुशासन निर्देशिका जारी हुनुपूर्व काम गरिरहेका सिईओहरु अब सोही कम्पनीमा पुनःनियुक्ती नपाउने भएको छन् ।

अदालतको यो निर्णयसँगै पुराना इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु परिवर्तनको लहर देखिने छ ।

कम्तिमा एक दर्जन कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले अव सोही कम्पनीमा पुनः नियुक्ती नपाउने भएका छन् ।
बीमकको संस्थागत सुशासन निर्देशिका २०६९ भदौ १ गतेदेखि लागू भएको थियो । सो निर्देशिकामा बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा एउटै व्यक्ति दुई कार्यकाल मात्र रहन सक्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.