व्यक्तिगत निक्षेपको ब्याज नबढेको भन्दै ब्याजदरमा राष्ट्र बैंकले कडाइ गर्ने

  २०७३ माघ २७ गते ७:३३     विकासन्युज

nrbकाठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर बढाए पनि व्यक्तिगत निक्षेपको ब्याज नबढेको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने संकेत गरेको छ ।

कर्जामा एकैपटक ५/६ प्रतिशत ब्याजदर बढेको भन्दै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संगठनका अध्यक्षसँगको छलफलमा गभर्नर डा. चिरञ्जीवी नेपालले यस्तो संकेत गरेका हुन् ।

मुद्दती खाताको ब्याज बढे पनि स–साना र स्थायी प्रकृतिको निक्षेपको ब्याज नबढेको भन्दै केन्द्रीय बैंकले ब्याजदर अन्तर कायम राख्न थप दबाब दिनुपर्ने स्थिति आएको पनि जनाएका छन् ।

नेपाल बैंकर्स संघ, विकास बैंक संघ र वित्त कम्पनी संघका पदाधिकारीसँगको भेटमा गभर्नर नेपालले सवारीसाधन कर्जामा धितोमा मूल्यको ९० प्रतिशत कर्जा गइरहेको भन्दै त्यसमा पनि सीमा तोक्ने बताएका छन् । ओभरड्राफ्ट कर्जातर्फ पनि केही नीतिगत व्यवस्था गर्नुपर्ने देखिएको उनले संकेत गरेका छन् ।

गभर्नर नेपालले केन्द्रीय बैंकले निर्देशनात्मक व्यवस्था गर्नुअघि नै वित्तीय संस्थाले आफ्नो लगानी आफैँ मिलाउँदा उपयुक्त हुने भन्दै स्वनियमनमा बस्न निर्देशन दिएका छन् । उनले पुँजी–निक्षेपमा कर्जाको अनुपातसम्बन्धी विद्यमान व्यवस्थामा परिवर्तन नहुने पनि स्पष्ट पारे । उनले यसका लागि कुनै दबाबले पनि काम नगर्ने पनि बताएका छन् । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.