‘न्यूरोड मोबाइल महोत्सव’ पुस १३ गतेदेखि शुरु, ग्राहकलाई हातखाली नजाने उपहार

  २०७३ पुष १० गते १७:०९     विकासन्युज

काठमाडौं, १० पुस । ‘जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने मूलनाराका साथ पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव- २०७३’ हुने भएको छ । नेपाल मोबाइल व्यवसायी संघले यहि पुस १३ गतेदेखि पुस १९ गतेसम्म (डिसेम्बर २८ तारिखदेखि जनवरी ३ तारिख) एनसेलको प्रायोजनमा मोबाइल महोत्सव आयोजना गर्ने भएको छ ।

newroad_mobile_mohatsab

संघले नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गर्न लागेको हो । नेपालीहरुले पनि गुणस्तरीय मोबाइल सेटहरु खरिद गरुन र नठगिउन भन्ने उदेश्यका साथ “जहाँ मोबाइल बजार त्यहिँ मोबाइल महोत्सव” भन्ने मूल नाराका साथ मोबाइल महोत्सव गर्न लागिएको हो ।

महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यो महोत्सवमा सबै मोबाइल ब्राण्डको सहभागीता रहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा मोबाइल खरिदकर्ताहरुलाई अधिकतम छुट दिइने बताएका छन् । “अंग्रेजी नयाँ वर्ष शुरु हुँदै गर्दा आफ्ना नजिकका साथीभाई तथा परिवारलाई मोबाइल उपहार दिने यो सबैभन्दा उपयुक्त अवसर हुनेछ” उनले भने, यो महोत्सव अहिलेसम्मकै ठूलो र भव्य मेला हुनेछ । नेपाल मोबाइल व्यवसायी संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरुको सबैभन्दा ठूलो र पुरानो संस्था हो । यस संघमा हाल ५०० भन्दा बढि रिटेलरहरुको आबद्धता रहेको छ ।

मोबाइल महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड मोबाइल महोत्सवमा आउने हरेक ग्राहकलाई हातखाली नजाने उपहार राखिएको भन्दै न्यूरोड क्षेत्रमा गुणस्तरीय उत्पादनमात्र बिक्री गरिएको बताएका छन् । उनले भने, “हामी ग्रे मार्केटका कुनै पनि उत्पादनहरु बिक्री गर्दैनौं र ग्राहकहरुलाई स्तरिय सामान मात्र उपलब्ध गराउँछौं ।”

महोत्सव अवधि भर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिनेछ । त्यसैगरी ग्राहकहरुले मोबाइल खरिदमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु दैनिक रुपमा लक्की ड्रमार्फत प्राप्त गर्नेछन् भने अन्य विभिन्न उपहारहरु पनि दैनिकरुपमा बितरण गरिनेछ । महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिक रुपमा बिक्री शुरु गर्नेछन् ।

महोत्सवको अवधिभर मोबाइल बजारको विभिन्न स्थानहरुमा फुड जोन, किड्स जोन, गेमिंग जोन ग्राहकहरुका लागि राखिनेछ भने हरेक मोबाइलको खरिदमा विशेष छुट दिईनेछ । नेपालका अधिकांश मोबाइल ब्राण्डहरुको सहयोगमा आयोजना हुने न्यूरोड मोबाइल महोत्सवले ग्राहकहरुलाई नयाँ मोबाइल तथा एसेसरिज किन्ने उपयुक्त अवसर प्रदान गर्ने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.