इक्रा नेपालको एकाधिकार तोडिदै, क्रेडिट रेटिङ संस्था स्थापनाको लागि केयरले पायो अनुमति

  २०७३ मंसिर २६ गते १६:०८     विकासन्युज

काठमाडौं, २६ मंसिर । नेपालमा क्रेडिट रेटिङमा एक छत्र राज गरेको इक्रा नेपालको एकाधिकार तोडिने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपालमा क्रेडिट रेटिङ संस्था स्थापना गर्नको लागि क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड (केयर), मुम्वई, इण्डियालाई सहमति दिएपछि इक्रा नेपालको एकाधिकार तोडिने भएको हो । धितोपत्र बोर्डले गत बिहीबार क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड, मुम्वईलाई संस्था दर्ता गर्नको लागि सहमति दिएको जनाएको छ ।
sebon
क्रेडिट रेटिङ नियमावली, २०६८ वमोजिम सो संस्थालाई नेपालमा कम्पनी स्थापना गरी काम गर्न अनुमति दिएको धितोपत्र बोर्डका सहप्रबक्ता निरन्जयमान घिमिरेले जानकारी दिए ।

उनका अनुसार विदेशमा क्रेडिट रेटिङको काम गरिरहेका कम्पनीहरुले नेपालमा सोही व्यवसाय गर्न चाहेमा उनीहरुको ५१ प्रतिशत र नेपाली साझेदारको ४९ प्रतिशत सेयर हुनुपर्ने प्रावधान छ । सोही अनुरुप सो कम्पनीले नेपालमा व्यवसाय गर्नुपर्ने छ ।

त्यस्तै क्रेडिट रेटिङ व्यवसाय गर्न चाहने कम्पनीको चुक्ता पूँजी कम्तिमा दुई करोड रुपैयाँ हुनुपर्ने व्यवस्था रहेकोमा सो कम्पनीको चुक्तापुजी ५ करोड रहने प्रस्ताव गरिएको सहप्रबक्ता घिमिरेले जानकारी दिए । कम्पनीले नेपालमा क्रेडिट रेटिङ व्यवसाय गर्नको लागि प्रचलित कानून वमोजिम कम्पनी स्थापना गर्नुपर्नेछ ।

कम्पनीले क्रेडिट रेटिङ व्यवसाय गर्ने अनुमति पत्रको लागि बोर्डमा निवेदन दिनु पर्नेछ सहप्रबक्ता घिमिरेले बताए । उनले भने—‘अहिले त हामीले संस्था स्थापनाको लागि मात्र अनुमति दिएका हौ, कम्पनी स्थापना गरिसकेपछि लाइसेन्सको लागि पुनः बोर्डको अनुमति चाहिन्छ ।’

नेपालमा एक मात्र क्रेडिट रेटिङ संस्था रहेको र क्रेडिट रेटिङ संस्था थपिए क्रेडिट रेटिङ व्यवसाय थप चुस्त र व्यवसायीकता बढ्न गई सेवाग्राहीले राम्रो सेवा पाउने सहप्रबक्ता घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.