विश्वकै सबैभन्दा धेरै तौल भएकी महिला शल्यक्रियाका लागि भारत आउने

  २०७३ मंसिर २६ गते १३:२४     विकासन्युज

भारत, २४ मंसिर । ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छिन् ।

भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम (करिब एक हजार एक सय पाउन्ड) तौल भएकी इमान अहमद अब्देल अतिको शल्यक्रियाको खर्च चिकित्सक आफैले बेहोर्ने गरी उपचार गर्ने प्रस्ताव गरेपछि उनी भारत आउने भएकी हुन् ।

छत्तीस वर्षीया अब्देल अति विगत २५ वर्षदेखि आफ्नो घरबाहिर ननिस्केको उनकी बहिनीले बताएपछि लाकदवालाले उनको उपचारका लागि इच्छा प्रकट गरेकी बताइएको छ ।

उनी सानो छँदा हात्तीपाइले भएको र यसैका कारण उनको तीघ्रा तथा शरीरको अन्य भाग सुनिएर ठूलो भएको थियो । त्यसको केही समयपछि उनलाई मस्तिष्कघात भएको थियो । मस्तिष्कघातले थलिएकी उनी वर्षौदेखि आफ्नो कोठाबाट बाहिर निस्कन नसक्ने छिन् ।

उपचारका लागि इच्छुक चिकित्सक लाकदवालाले एएफपी संवाददातासँग भने, “मैले शतप्रतिशत निको पार्छु भनेमा म झुटो बोलेको ठहर्नेछ, तर सम्भवभएसम्म मैले उनको उपचारमा सघाउने छु ।”

अब्देल अतिले भारतमा करिब दुई महिना लामो उपचारपछि घर फर्किनसक्ने लाकदवालाले बताए । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.