२०७३ मंसिर २५ गते १२:५१ विकासन्युज
काठमाडौं, २५ मंसिर । खाडी मुलुक जाने कामदारहरुले स्वस्थ्य परिक्षण शुल्कवापत थप १ हजार एक सय रुपैंयाँ बुझाउनु पर्ने भएको छ । आगमी पुस १७ गते अर्थात जनवरी १ देखि लागु हुनेगरी साउदी, ओमन र बहराइन जाने कामदारले अहिले बुझाउँदै आएको ५ हजार पाँच सय रुपैंयाँमा थप एक हजार १ सय रुपैयाँ बढी शुल्क बुझाउनुपर्ने भएकाे हो ।
खाडी क्षेत्रका देशहरुको संगठन गल्फ कोअपरेसन काउन्सिलको स्वास्थ्य मन्त्रीहरुको परिषदले विदेशबाट लिने कामदारको मेडिकल परीक्षणका लागि रजिष्ट्रेशन शुल्कमा १० डलर बढाउने निर्णय गरेको गाम्का नेपालले जनाएको छ । गाम्का नेपाल साउदी लगायत सातवटा खाडी मुलुकको लागि जाने कामदारहरुको स्वस्थ्य परिक्षण गर्ने मेडिकलहरुको छाता संगठन हो ।
खाडी मुलुकमा रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा हाल लाग्ने शुल्कमा झण्डै ११ सय रुपैंयाँ थप गरी लिन गाम्का नेपालले पत्राचार गरेको वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङले जानकारी दिए ।
जिसीसी बाटै निर्णय भएर आएकाले सवैको जानकारीको लागि पत्राचार गरिएको गाम्का नेपालका अध्यक्ष राजेशध्वज जोशीले बताए । उनका अनुसार जनवरी १ देखि सो निर्णय कार्यान्वय हुनेछ । अहिले स्वस्थ्य परिक्षणको लागि प्रति व्यक्ति ५५ सय रुपैंयाँ लिने गरिएकोमा जनवरी १ देखि परिक्षण शुल्क झण्डै ६६ सय पुग्नेछ । हाल गाम्का नेपालअन्तरगत १२ वटा मेडिकल सेन्टर स्वास्थ्य परीक्षण गर्ने अनुमती पाइरहेका छन् ।
जीसीसीले नेपालस्थित सिमित मेडिकललाइ मात्रै कामदारको स्वस्थ्य परिक्षण गर्न दिएको कारण विभिन्न समयमा अनेक बाहना बनाएर गाम्काले शुल्क बृद्धि गर्दै आएको सरोकारवालाहरुले आरोप लगाएका छन् । गाम्काको सुरुवात पछि ४५ सय रुपैयाँ रहेको मेडिकल शुल्क बढाएर ५५ सय पु¥याइएको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.