सात प्रदेशमा एकीकृत नमूना बस्ती निर्माण गर्न धुर्मुस-सुन्तली फाउन्डेसनलाई सरकारले सहयोग गर्छः मन्त्री पाण्डे

  २०७३ मंसिर २० गते १३:४८     विकासन्युज

काठमाडौं, २० मंसिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पहुँच र पहिचानका हिसाबले पछाडि पारिएका र विकेन्द्रित रुपमा रहेका सीमान्तकृत, लोपोन्मुख जाति समुदायमा एकीकृत वस्ती निर्माण गरी उनीहरुको उत्थानका लागि गरिने सबै काममा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।

dhurmus_suntali_foundation_help

चर्चित हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)सँग मन्त्रालयमा भएको भेटमा उनले एकीकृत बस्ती निर्माणका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै ‘जनता आवास कार्यक्रम’सँगै जोडेर एकीकृत वस्ती निर्माण गर्न धुर्मस–सुन्तली फाउन्डेसनलाई सुझाव दिए । एकीकृत बस्ती निर्माण गर्दा पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने गरी आयआर्जनको विषयलाई पनि सँगै जोड्नुपर्ने उनको भनाइ थियो ।

एकीकृत वस्ती नै पर्यटकीय गन्तव्य हुन सक्ने गरी सात वटै प्रदेशमा एकीकृत वस्ती निर्माण गर्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिनुभयो । उनले भने, “एकीकृत वस्तीमा ‘होम स्टे’ सञ्चालन आर्थिक उपार्जन गर्न सकियोस् ।”

सो अवसरमा भूकम्पपीडितलाई एकीकृत नमूना वस्ती निर्माण गरी हस्तान्तरण गरेका चर्चित हास्यकलाकार धुर्मुसले सात प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्ने आफ्नो चाहना रहेको बताएका थिए । उनले फाउन्डेसनले छिट्टै नै सात प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्न लागेकाले सरकारको सहयोग आवश्यक रहेको बताए ।

साथै उनले सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माण गरेको ‘धुर्मुस–सुन्तली एकीकृत वस्ती’सम्म पुग्ने सडक कालोपत्रे गर्न सरकारसँग सहयोग मागेका थिए । उनले बर्सेनि आगलागीबाट पीडित बन्दै आएका महोत्तरीको मुसहर वस्तीलगायत अन्य सीमान्तकृत र लोपोन्मुख समुदायमा पनि एकीकृत नमूना वस्ती निर्माण गर्ने फाउन्डेसनको योजना रहेको बताएका छन् ।

सो अवसरमा मन्त्री पाण्डेले गिरान्चौरको एकीकृत नमूना वस्तीसम्म पुग्ने सडक तत्काल कालोपत्र गरिने र सात वटा प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्न धुर्मुस–सुन्तली फाउन्डेसनलाई मन्त्रालयले सहयोग गर्ने बताए ।

यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले काभ्रेको पहरी वस्ती र सिन्धुपाल्चोकको गिरान्चौरका भूकम्पपीडितका लागि नमूना एकीकृत वस्ती निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.