
काठमाडौं, १९ मंसिर । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार मंसिर १९ गतेसम्म ५ लाख ३० हजार ६ सय ४६ घरधनीसँग अनुदान सम्झौता भएको छ । जसमा ४ लाख ४४ हजार ४४ हजार ४ सय ६२ घरधनीको पहिलो किस्ता बैंक खातामा जम्मा भइसकेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित जनतालाई प्रथम किस्ता अनुदान उपलब्ध गराउन अहिलेसम्म २७ अर्ब ३० करोड रुपैयाँ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निकासा दिएको छ ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले व्यवस्थापिका संसद्मा व्यक्त गर्नु भएको प्रतिबद्धता र गत असोज १० गते बसेको निर्देशक समितिको बैठकको निर्णय अनुसार भूकम्प पीडित जनतालाई तीन किस्तामा रु. ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त सुझाव समेतलाई सम्बोधन गर्ने गरी कार्यकारी समितिको ३८ औं बैठकबाट निजी आवास पुनर्निर्माण अनुदान वितरण सम्बन्धी कार्यविधिको परिमार्जित मस्यौदालाई अन्तिम रुप दिई मन्त्रिपरिषद् समक्ष पेश गर्ने निर्णय भएको छ । उक्त निर्णय बमोजिम मस्यौदा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने तयारी भैइसकेको छ ।
चालू आर्थिक वर्षका लागि निर्देशक समितिको बैठकबाट स्वीकृत भएको १ खर्ब ७ अर्ब बजेट मध्ये विभिन्न मन्त्रालय तथा निकायहरुका कार्यक्रम स्वीकृत गरी चालूतर्फ २९ अर्ब ७८ करोड ८ लाख ९६ हजार र पूँजीगततर्फ २२ अर्ब ६३ करोड ६० लाख ७४ हजार रुपैयाँ अख्तियारी प्रदान गरिएको छ ।