साढे १३ करोडको लागतमा सडक निर्माण सुरु

  २०७३ मंसिर १९ गते १२:४७     विकासन्युज

इलाम, १९ मंसिर । इलामका उत्तर पूर्वी गाविसको व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको नयाँबजार जोड्ने पक्की सडक निर्माण सुरु भएको छ । फिक्कलबाट नयाँबजारसम्मको सडकलाई स्तरोन्नति गर्ने कार्य सुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

उन्नति समावेशी परियोजनाअन्तर्गत रु १३ करोड ६६ लाखको लागतमा हिउँद बर्खा नै मोटर चल्न सक्ने गरी सडक स्तरोन्नतिको कार्य सुरु भएको हो । फिक्कलको बरबोटेबाट १९ किलोमिटर पक्की सडक निर्माण भएपछि त्यस क्षेत्रका जोगमाई, गोर्खे, नयाँबजार, सोयाङ, प्याङ, नामसालिङ र जमुनासम्मका बासिन्दालाई स्थानीय कृषि उपज बिक्री गर्नसँगै उपभोग्य सामग्री खरिद र आउजाउमा सहज हुने भएको छ ।

सडक स्तरोन्नतिको उद्घाटन गर्दै इलामका सभासद् केशव थापाले सडकलाई दीर्घकालसम्म सञ्चालन गर्ने बनाउन नियमित अनुगमन गर्न स्थानीयवासीलाई सुझाव दिएका छन् । पन्ध्र महिनामा काम सम्पन्न हुने यस सडकको चौडाइ नालीसहित ६ दशमलव २५ मिटरको रहने उक्त सडक नागार्जुन कन्स्ट्र«क्सन कम्पनीले निर्माणको जिम्मा पाएको हो ।

नयाँबजारलाई नै सदरमुकामसँग जोड्न २१ किमी लामो अर्को सडक पनि निर्माणाधीन छ । माइखोलासम्म निर्माण सकिएको सडकको सोयाङखण्डमा काम भइरहेको छ ।

त्यस्तै माइखोलामा पुल निर्माण कार्य पनि थालिएको छ । तपस्वी बालागुरुले २०११ सालमा बस्ती बसाएको नयाँबजारमा उनकै नेतृत्वमा २०१२ साल चैतमा भारतको मानेभञ्ज्याङबाट मोटर ल्याइएको भए पनि त्यसयता यहाँका बासिन्दाले सडकको दूरावस्था सहँदै आएका थिए ।

अलैँची, अदुवा, आलु, सागसब्जीलगायत विभिन्न कृषि बालीको व्यावसायिक खेती हुने यस क्षेत्रमा सडक यातयातको भरपर्दो व्यवस्था नहुँदा बजारसम्म पुर्याउन कठिन थियो । गाविस अध्यक्ष गोकुल सञ्जोलले राजनीतिक पूर्वाग्रह नराखी विकासको काममा अघि बढ्नु पर्ने धारणा राखेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.