मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण शुरु, लगानीका लागि ७ कम्पनीसँग ऋण सम्झौता

  २०७३ मंसिर १५ गते १४:२२     विकासन्युज

mistri_kholaम्याग्दी, १५ मंसिर । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ । पाँच अर्ब ६४ करोड रुपैयाँको लागतमा रोवस्ट इनर्जी कम्पनीले निर्माण सुरु गरेको उक्त आयोजना आगामी सन् २०१८ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

एक सय ८० मिटर पहुँच मार्ग निर्माण सकेर मुख्य सुरुङको काम सुरु गरेको आयोजनाका प्रमुख इन्जिनियर दामोदर श्रेष्ठले जानकारी दिए । “छिट्टै बाँध र विद्युत्गृहको पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी भएको छ,” उनले भने ।

नारच्याङ बेँसीदेखि निलगिरि र घलेम्दी खोलाको दोभानमा रहने बाँधसम्म नौ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण भइसकेको छ । दुई हजार ३०० मिटर सुरुङबाट ल्याइने पानी तीन सय चार मिटरको हेडबाट नारच्याङ बेँसीमा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिनेछ ।

आयोजनाको लागि लगानी जुटिसकेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताए । नेपाल इन्भेस्टमेन्ट बैंकसँग ७० करोड रुपैयाँ, जलविद्युत् विकास कम्पनीसँग एक अर्ब रुपैयाँ र नेपाल बैंकसँग ५० करोड रुपैयाँ ऋण सम्झौता भइसकेको छ । यसैगरी नविल बैंकबाट एक अर्ब रुपैयाँ, लक्ष्मी बैंकबाट ४० करोड रुपैयाँ, सिद्धार्थ बैंकबाट ३० करोड रुपैयाँ र एस डेभलभमेन्ट बैंकबाट ३० करोड रुपैयाँ ऋण लगानीका लागि सम्झौता भएको बताइएको छ ।

मिस्त्रीखोलाले विसं २०६४ मा निर्माणका लागि अनुमति पाएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सव स्टेसन निर्माणमा ढिलाइ गर्दा सो आयोजना नौ वर्षपछि धकेलिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.