५४७ अर्बमा काठमाडौंको आकाश र जमिन मुनी मेट्रो रेल, चिनियाँ कम्पनीले देखाए इच्छा

  २०७३ मंसिर १२ गते १७:२७     नारायण पौडेल

metro_imgकाठमाडौं, १२ मंसिर । सन २०१२/१३ मा चुङसुङ इञ्जिनियरिङ नामक कोरियाली कम्पनीले काठमाडौंको आकाश र जमिनमुनी मेट्रो रेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर रेल विभागलाई बुझाएको थियो । तर त्यो सम्भाव्यता अध्ययनको फाइल अझै रेल विभागका महानिर्देशको कार्यकक्षको दराजमा थन्किरहेको छ ।

विभागका महानिर्देशकको दराजमा थन्किएको त्यो फाइलमा यतिबेला आधा दर्जन भन्दा बढि चिनियाँ कम्पनीको आँखा गडेको छ । ‘थुप्रै चिनियाँ कम्पनीले काठमाडौंमा मेट्रो रेल बनाउन इच्छा देखाएका छन, हामीसँग छलफल भैरहेको छ, म भर्खरै मात्र चिनमा पुगेर पनि केहि कम्पनीसँग यसैबारे छलफल गरेर फर्केको छु’, रेल विभागका महानिर्देशक अनन्त आचार्यले विकासन्युजसँग भने ।

metro_cost
निर्माण आरम्भ भएको १० बर्षभित्र निर्माण सम्पन्न गर्न सकिने मेट्रो रेलको लम्बाई ७७ दशमलब २८ किलोमिटर रहेको छ भने निर्माण, मर्मत तथा डब्बा खरिद लागत जम्मा ५४७ अर्ब अनुमान गरिएको छ । त्यसरी निर्माण हुने रेलको २५ दशमलब ५० किलोमिटर खण्ड जमिन मुनी अर्थात राजधानीका सडक मुनी अण्डर ग्राउण्डमा निर्माण हुनेछ । बाँकी ५१ दशमलब ७८ किलोमिटर रेल राजधानीको आकाशमा अर्थात सडक माथी फ्लाईओभर(फलामे पुलमा) निर्माण हुनेछ ।

metro_rail-2-1

सडकमाथी फ्लाईओभर बनाएर गुड्ने रेलको निर्माण, मर्मत तथा डब्बा खरिदको लागत प्रति किलोमिटर साढे ६ अर्ब लाग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, जमिन मुनी निर्माण हुने अण्डरग्राउण्ड रेलको लागत भने प्रति किलोमिटर १० अर्ब नाघ्ने देखिन्छ । पाँच वटा मेट्रो रेलको लाइनले राजधानीको सार्वजनिक सवारी साधनको अस्तव्यस्ततालाई हटाउने विभागका महानिर्देशक आचार्यले बताए । ‘चिनियाँलाई दिने हो भने पाँच वटै लाइन बनाइदिन्छौं भनेका छन् । यस्तो रेल मार्ग एक सय बर्षसम्म टिक्छ ।’ आचार्यले भने ।

ananta_acharya

अनन्त आचार्य, महानिर्देशक-रेल विभाग

कहाँ कहाँ गुड्छ आकाशमा रेल ?
सो अध्ययनले तीनवटा मेट्रो रेलको लाइन राजधानीका सडक माथी फलामका पुल बिछ्याएर निर्माण गर्ने उल्लेख गरेको छ । जस अनुसार पहिलो रेल वे लाइन १२ दशमलब १० किलोमिटरको हुनेछ । यो लाइन सातदोबाटोबाट, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज हुँदै नारायणगोपाल चौकसम्म पुग्नेछ ।

दोश्रो मेट्रो रेल लाइन कलंकीबाट सुरु भएर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, तिनकुने हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुग्नेछ र यसको लम्बाई ११ दशमलब १५ किलोमिटरको हुनेछ ।

तेश्रो रेलवे लाइनले भने चक्रपथ परिक्रम गर्नेछ । जुन २८ दशमलब ५३ किलोमिटरको हुनेछ । यसरी निर्माण हुने तीन वट रेलवे लाइनको कुल लम्बाई ५१ दशमलब ७८ किलोमिटरको हुनेछ ।

जमिनमुनी अण्डरग्राउण्ड रेल
राजधानीका सडक मुनी निर्माण हुने अण्डरग्राउण्ड रेलवे लाइन भने कुल २५ दशमलब ५० किलोमिटरको हुनेछन् । यो रेल लाइन स्वयम्भु, छाउनी, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, गौशाला, चावहिल, हुँदै बौद्धसम्म पुग्नेछ । चौथो रेल लाइनका रुपमा अघि सारिएको यो खण्डको लम्बाई ११ दशमलब ७० किलोमिटरको हुनेछ ।

त्यस्तै पाँचौै तथा अन्तिम लाइन भने धोबीघाटबाट सुरु भएर पुल्चोक, पाटन दरबार, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, डिल्लीबजार, टंगाल, नारायणहिटी दरबार, नयाँ बजार, हुँदै गोंगम्बु पुगेर टुंगिनेछ । यसको लम्बाई भने १३ दशमलब ८० किलोमिटरको हुनेछ ।

चिनियाँ कम्पनीले एकै पटक पाच वटै लाइन अथवा पाइलट प्रोजेक्टका रुपमा एक दुई लाइनबाट समेत निर्माण आरम्भ गर्न सकिने मनासाय व्यक्त गरिरहेको महानिर्देशक आचार्यले बताए । त्यसका लागि नेपाल सरकारले मन्त्रिस्तरिय निर्णयद्धारा डिपिआर निर्माणका लागि बाटो खुल्ला गर्नुपर्नेमा उनले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.