साढे दुई खर्ब खर्चनुपर्ने २० वर्षे गुरुयोजना तयार, उद्देश्य चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापन

  २०७३ मंसिर १२ गते ८:०४     विकासन्युज

काठमाडौं १२, मंसिर । साढे दुई खर्ब रुपैयाँ खर्चिने गरी तयार पारिएको महत्त्वाकांक्षी ‘चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजना’ प्रस्ताव स्वीकृतिका लागि वन मन्त्रालयले यसै साता मन्त्रिपरिषद् पठाउने भएको छ ।

‘राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति’ ले गुरुयोजनाको प्रतिवेदन स्वीकृति प्रक्रियाका लागि गत असार २२ मा वन मन्त्रालयमा पठाएको थियो।  ‘व्यापक छलफल र बहस गरी अन्तिम रूप दिइएको गुरुयोजना छिट्टै मन्त्रिपरिषद पठाउँदै छौं,’ मन्त्रालयका प्रवक्ता एवं योजना महाशाखा प्रमुख पेमनारायण कँडेलले भने, ‘गुरुयोजनामा उल्लेख भएका कार्यक्रमलाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइनेछ ।’
chure-xettra
‘चुरेको माटो चुरेलाई, स्वच्छ पानी सबैलाई’ नारा दिइएको गुरुयोजनामा ५/ ५ वर्षका चार चरणका कार्यक्रम प्रस्ताव गरिएको छ । कँडेलका अनुसार पहिलो चरणको ५ वर्षको कार्यक्रमका लागि ८१ अर्ब ६१ करोड, दोस्रो चरणको ५ वर्षको कार्यक्रमलाई ६७ अर्ब, तेस्रो चरणको ५ वर्षका लागि ५१ अर्ब ९५ करोड, चौथो चरणको ५ वर्षका लागि ४९ अर्ब ८७ करोड र अन्तिम वर्षका लागि एक अर्ब ८५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । अहिले सरकारले चुरेका लागि वार्षिक एक अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ ।

गुरुयोजनामा उल्लेख भएका कार्यक्रम सम्पन्न गर्न दातृ निकायबाट पनि सहयोग लिइने प्रस्ताव गरिएको छ । ‘सरकारबाहेक वन क्षेत्रमा रुचि राख्ने दातृ निकायलाई समेत सहयोगका लागि आग्रह गरिनेछ,’ प्रवक्ता कँडेलले भने । गुरुयोजना सन् २०१७ देखि नै कार्यान्वयनमा ल्याइनेछ ।

वनविज्ञ विनोद भट्टको संयोजकत्वमा वन, चुरे, भू–क्षय, वन्यजन्तु, वनस्पति, समाजशास्त्रीलगायत २७ विशेषज्ञले तयार गरेको गुरुयोजनामा चुरे संरक्षणसँगै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर उकास्ने, भूस्खलन रोक्ने, जलाधार संरक्षण गर्ने र नदी तटीय क्षेत्रको दिगो संरक्षण गर्नेलगायत कार्यक्रम समेटिएका छन् । ‘स्थानीयलाई नै परिचालन गरी चुरेको संरक्षण गर्ने र उनीहरूको जीविकोपार्जनमा पनि सघाउने यसको मुख्य उद्देश्य हो’ कँडेलले भने ।

गुरुयोजना कार्यान्वयनका क्रममा चुरे क्षेत्रका बासिन्दालाई आर्थिक राहतसमेत उपलब्ध गराइनेछ । गोबर ग्यासको हकमा प्रतिघरधुरी १५ हजार रुपैयाँ र लघु जलविद्युत् निर्माण तथा सोलार प्यानल जडान गर्न समुदायलाई कुल लागतको २५ प्रतिशत अनुदान सहयोग सरकारले उपलब्ध गराउने उल्लेख छ ।

‘चुरे क्षेत्रमा गोबर ग्यासलगायत नवीकरणीय ऊर्जालाई उच्च प्राथमिकता दिइएको छ,’ राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य विदुर भारतीले भने, ‘दाउराको खपत न्यून गर्न सौर्य ऊर्जा र सुधारिएको चुलोलाई प्रवद्र्धन गरिने कार्यक्रम समेटिएको छ ।’ चुरेको जोखिम क्षेत्रमा बसेका महिला, दलित, अति गरिब, मुस्लिम, मधेसी, आदिवासी र सीमान्तकृत समुदाय, चुरेमा खेती गर्ने समुदाय र जंगलमा आश्रित समुदायलाई समेटेर २० देखि २५ जनाको समूह गठन गरिनेसमेत उल्लेख छ । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.