२०७३ मंसिर १० गते ८:१५ विकासन्युज
काठमाडौं १०, मंसिर । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लामाबगरस्थित बाँधस्थल पुग्ने पहुँचमार्गका लागि निर्माणाधीन सुरुङमार्गको काम एक साताभित्रै सकिने भएको छ ।
यो सुरुङमार्ग निर्माण सम्पन्न भएपछि बाँधस्थलसम्म पुग्ने पहुँचमार्ग खुल्नेछ भने ०७२ वैशाख १२ को भूकम्पपछि रोकिएको लामाबगरस्थित बाँधस्थलको काम पुनः सुरु गर्न मार्गप्रशस्त हुनेछ । सुरुङमार्ग खुलेपछि लामाबगरसम्मको सडक पनि सुचारु हुनेछ ।
भूकम्पले प्रवेशमार्गको काब्रेभिर क्षेत्रमा सडक भत्किएको थियो । भिर काटेर निर्माण गरिएको सडक भूकम्पले भत्किएर त्यही ठाउँबाट सडक लैजान अप्ठ्यारो भएपछि काब्रेभिरबाट सुरुङमार्ग निर्माण गर्न थालिएको हो ।
काब्रेभिरमा सडक भत्किएर यातायात अवरुद्ध भएपछि अहिलेसम्म बाँधस्थलको काम हुन सकेको छैन । दोलखा बजारबाट लामाबगरसम्मको ६८ किलोमिटर पहुँचमार्गमध्ये भोर्ले र काब्रे भिरमा सबैभन्दा बढी सडक क्षति भएको थियो ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेका अनुसार अन्तिम भागमा कमजोर चट्टान आएकाले केही दिनयता कामको गति घटेको छ । विगतमा दैनिक ५ मिटरसम्म सुरुङको काम हुँदै आएकोमा केही दिनयता दैनिक मुस्किलले २ मिटर प्रगति भएको उनले बताए । कारोबार दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.