विश्वको सबैभन्दा ठूलो थाङ्का प्रदर्शन, ७० फीट लामो थाङ्कामा गौतम बुद्धको जीवनी प्रस्तुत

  २०७३ कार्तिक २६ गते १८:४८     विकासन्युज

काठमाडौँ, २६ कात्तिक । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा १६ राष्ट्रका कलाकारले बनाएको विश्वको सबैभन्दा ठूलो थाङ्का आजदेखि प्रदर्शनीमा राखिएको छ ।

thanka

मनाङ सेवा समाजको आयोजनामा दशरथ रङ्गशालामा नेपाली कलाकार सूर्यबहादुर थकाली र जापानी कलाकार यासुका तातागीको नेतृत्वमा निर्माण गरिएको ७० मि लम्बाइ र ५० मि चौडाइको सो थाङ्काले गौतम बुद्धको जीवनीलाई प्रस्तुत गरेको छ ।

सो प्रदर्शनीको उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुद्धले देखाएको बाटो नै मानवसभ्यताको दिगो बाटो भएकाले उनको सन्देश विश्वभरि फैलाउनुपर्नेमा जोड दिए ।
उनले भने, “बुद्धको सिद्धान्तलाई विश्वसामु चिनाउन यो थाङ्काले महत्वपूर्ण भूमिका खेलेको छ ।”
नेपालका लागि जापानी राजदूत मासासी ओगावाले थाङ्का प्रदर्शनीले नेपाल–जापान सम्बन्ध अझै बलियो हुने बताउँदै सम्बन्धको ६० औँ स्थापनाका अवसरमा राजदूतावासले विभिन्न कार्यक्रम गर्ने जानकारी दिए ।

पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले विश्वकै सबैभन्दा ठूलो थाङ्कालाई सरकारले नेपालमा राख्न सके नेपाल पर्यटकको आकर्षकको केन्द्रबिन्दु हुन सक्ने बताए ।

कार्यक्रममा नेपाली कलाकार थकाली, जापानी कलाकार तातागी लगायतले १२ वर्षको अथक प्रयासले गर्दा उक्त थाङ्का निर्माण भएको र यसमा बुद्धको जन्मदेखि परिनिर्वाणसम्मको अवस्थालाई समेटेको जानकारी दिए ।

उक्त थाङ्का शुक्रबार र शनिबार काठमाडौँमा, आगामी मङ्सिर ५ र ६ गते पोखरामा र मङ्सिर ११ र १२ गते लुम्बिनीमा प्रदर्शन गरिने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.